लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने

श्रावण ५, २०८१ |अमर क्षितिज भण्डारी
लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भोलि साउन ६ गते विश्वासको मत लिनुहुने भएको छ । लुम्बिनी प्रदेशसभाको भोलि (आइतबार) दिउँसो बस्ने बैठकबाट विश्वासको लिने कार्यसूची रहेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा भएको राजनीतिक सहमतिअनुसार नयाँ सरकार बन्ने पक्कापक्की भएको र विश्वासको मत प्राप्त हुने अवस्था नभएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने मनस्थितिमा रहनुभएका मुख्यमन्त्री महराले पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।

गत असार २० गते नेकपा एमालेलगायत दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा यही चैत २३ गते ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री बन्नुभएको थियो ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।