सरकारबाट जसपा पनि बाहिरियो

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारबाट जसपा पनि बाहिरियो

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ ।

जसपाका मन्त्रीहरुले आज प्रधानमन्त्री पु्ष्पकमल दाहाललाई भेटेर राजीनामा बुझाएका हुन् ।

यसअघि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो । एमालेबाट मन्त्री बनेका ८ जनाले बुधबार सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिएका थिए ।

असार १७ गते नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति बनेको थियो ।

योसँगै दाहाल नेतृत्वको सरकारलाई अब रास्वपा र एकीकृत समाजवादीको मात्र समर्थन कायम छ ।

अल्पमतमा पर्नुभएका प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधिसभा बैठकमा आफूले विश्वासको मत लिने भन्दै आजै संसद् सचिवालयलाई पत्र पठाउनुभएको छ ।

सरकारलाई समर्थन गरेको कुनै पनि दलले विश्वासको मत फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र पुनः संसद्‌मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभामा अहिले कांग्रेसका ८८ र नेकपा एमालेका ७९ जना सांसद छन् । प्रधानमन्त्री दाहालको दल नेकपा माओवादी केन्द्रका ३२ सांसद छन् । त्यसैगरी सरकारमा रहेको अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत पाउन १३८ सांसदको आवश्यक पर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.