प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

कार्यसूचीमा राख्न संसद् सचिवालयलाई पत्राचार
असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिनुहुने भएको छ ।

असार २८ गते प्रतिनिधिसभा बैठकमा आफूले विश्वासको मत लिने भन्दै संसद् सचिवालयलाई प्रधानमन्त्री दाहालले पत्र लेख्नुभएको छ । उहाँले विश्वासको मत लिने कार्यसूचीमा राख्न भन्दै सचिवालयलाई पत्र पठाउनुभएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन गरी सरकार बनाउने सहमतिसँगै प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब परेको छ । सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि दाहालले पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।

एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै एमालेबाट मन्त्री बनेका आठजनाले सामूहिक राजीनामा दिएका थिए । सरकारलाई समर्थन गरेको कुनै पनि दलले विश्वासको मत फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र पुनः संसद्‌मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

असार १७ गते कांग्रेस-एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति बनेको थियो ।

कांग्रेस र एमालेमध्ये कुनै एक दलले विश्वासको मत नदिएमा प्रधानमन्त्री अल्पमतमा पर्नुहुन्छ । प्रतिनिधिसभामा अहिले कांग्रेसका ८८ र नेकपा एमालेका ७९ जना सांसद छन् । प्रधानमन्त्री दाहालको दल नेकपा माओवादी केन्द्रका ३२ सांसद छन् । त्यसैगरी सरकारमा रहेको अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत पाउन १३८ सांसदको आवश्यक पर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.