रास्वपाका निलम्बित महामन्त्री ढकालको प्रतिवेदनमा नेतृत्वमाथि आरोपै-आरोप

सभापति रवि लामिछानेकै कारण पार्टीलाई क्षति पुगेको दाबी
आर्थिक पारदर्शितामा समेत प्रश्न
असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपाका निलम्बित महामन्त्री ढकालको प्रतिवेदनमा नेतृत्वमाथि आरोपै-आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले नेताहरूका गतिविधिकै कारण पार्टी कमजोर हुँदै गएको आरोप लगाउनुभएको छ । समीक्षा यात्राको प्रतिवेदन सार्वजनिक गर्दै ढकालले पुँजी नभएको मान्छेलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा स्थान नभएको बताउनुभएको छ । उहाँले रास्वपाको आर्थिक व्यवस्थापनमाथिसमेत प्रश्न उठाउनुभएको छ ।

समीक्षा यात्रा भन्दै रास्वपाले ३८ जिल्लाबाट संकलल गरेको रायसहितको प्रतिवेदन आज निलम्बित महामन्त्री ढकालले सार्वजनिक गर्नुभएको हो । ३२ पृष्ठको प्रतिवेदनमा ढकालले रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताले केन्द्रका नेता भेट्न नपाएकोदेखि पार्टी सभापति रवि लामिछानेमाथि प्रश्न उठेको विषयसमेत उल्लेख गर्नुभएको हो । 

पार्टी सभापति रवि लामिछानेका विवादित अभिव्यक्तिले पार्टीलाई क्षति पुगेको दाबी प्रतिवेदनमा गरिएको छ । सहकारी ठगीका फरार अभियुक्त जीवी राईलाई तत्काल पक्राउ गर्ने भनेर पनि गृहमन्त्री लामिछानेले भने पनि काम गर्न नसकेको, ठूला भ्रष्टाचारका फाइल खोल्ने चेतावनी मात्र दिएर बसेकोलगायतका आरोप कार्यकर्ताबाटै लागेको ढकालको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी टेलिभिजनमा प्रस्तोता हुँदा लामिछानेका सहयोगीलाई केन्द्रीय सदस्य बनाएकोमा पनि सभापतिमाथि कार्यकर्ता तहबाटै प्रश्न उठेको ढकालले बताउनुभएको छ । त्यस्तै पार्टीका नेताहरू सुविधाभोगी भएको आरोप प्रतिवेदनमा लगाइएको छ ।

रास्वपामा कामको मूल्यांकन नभएर गुट हाबी भएको, मन्त्री भएकाहरूले फोनसमेत नउठाएर कार्यकर्ताको अवमूल्यन गरेको आरोप उहाँले लगाउनुभएको छ । उहाँले २०८४ सालसम्म पार्टीका केही नेता अमेरिका पलायन हुनसक्ने गम्भीर आरोपसमेत लगाउनुभएको छ ।

ढकालले पार्टी सभापति लामिछानेमाथि सहकारीको विषयलाई लिएर उठेको प्रश्नको जवाफ दिन नसक्दा इलामको उपनिर्वाचनमा पराजय बेहोर्नुपरेको निष्कर्ष निकाल्नुभएको छ । गत संसदीय निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पार्टीले सघाएको समेत उल्लेख गर्नुभएको छ । 

अर्कोतर्फ काठमाडौंका दुई वटा निर्वाचन क्षेत्र जिते पनि दीर्घकालीन फाइदा नभएको पनि ढकालको निष्कर्ष छ । ढकालको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भन्दा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसँग मिलाउनु उचित हुने सुझाव दिइएको छ । 

ढकालले २ हजार ७९ जनासँग अन्तरक्रिया गरेर प्रतिवेदन तयार पारेको बताउनुभएको छ । सार्वजनिक भएको प्रतिवेदनमाथि रास्वपा केन्द्रीय समितिमा बुधबार दिनभर छलफल भएको थियो । छलफलपछि केन्द्रीय समितिको बहुमतले ढकाललाई ७ दिन महामन्त्री पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

बैठकमा ढकाल भने मुखमा पट्टि बाँधेर उपस्थित हुनुभएको थियो भने आफूलाई बोल्न नदिइएको उहाँको आरोप थियो ।

सम्बन्धित समाचार...

के छ मुकुल ढकालको प्रतिवेदनमा ? जसले महामन्त्री पद खोस्यो (पूर्णपाठ)

रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

जनताका कुरा बोलिदिँदा कारबाही भयो : मुकुल ढकाल

रास्वपा महामन्त्री ढकालको प्रतिवेदन- रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं (पूर्णपाठ)

लाइभ नगर्ने रास्वपाको निर्णयप्रति विरोध जनाउँदै महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी

रास्वपा महामन्त्री ढकाललाई सोधिएको स्पष्टीकरणमा के छ ?

पार्टी दुर्घटनाउन्मुख छ : रास्वपाका महामन्त्रीको प्रतिवेदन

पार्टी बिरामी परेको छ, समयमै अस्पताल लगेर सर्जरी नगरे सकिन्छ : महामन्त्री मुकुल ढकाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.