दलीय भागबन्डा मिलाउन सुदूरपश्चिममा ४ मन्त्रालय फुटाइयो

मन्त्रालय फुटाएर विनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारी
गण्डकीमा फणिन्द्र देवकोटा पुनः मन्त्री नियुक्त
असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
दलीय भागबन्डा मिलाउन सुदूरपश्चिममा ४ मन्त्रालय फुटाइयो

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले चारवटा मन्त्रालय मन्त्रालय फुटाएर विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोक्नुभएको छ ।

उहाँले भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर आज विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोक्नुभएको हो ।

आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत राखिएको छ । भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा, युवा तथा खेलकुद र स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ । यस्तै, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा एक-अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ ।

मुख्यमन्त्री सोडारीले माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास र लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

एमालेका वीरबहादुर थापा वन, वातावरण तथा सहकारी र हीरा सार्की आन्तरिक मामिला तथा कानुनमन्त्री बन्नुभएको छ । नेकपा एकीकृत समाजवादीकी माया पन्तले उद्योग, वाणिज्य, पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात र टीका थापा कृषि तथा भूमि सुधारमन्त्री बन्नुभएको छ भने माओवादी केन्द्रका ओमविक्रम भाटलाई स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

गण्डकीमा फणिन्द्र देवकोटा पुनः मन्त्री नियुक्त

यता सर्वोच्च अदालतको आदेशमा पुनर्बहाली हुनुभएका नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश सभा सदस्य फणिन्द्र देवकोटा पुन: मन्त्री बन्नुभएको छ ।

देवकोटालाई आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्तमन्त्री देवकोटाले आजै प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ ।

गत जेठ २८ गते देवकोटाले मुख्यमन्त्री पाण्डेलाई माओवादी केन्द्रको निर्णयविपरीत विश्वासको मत दिएपछि त्यसको भोलिपल्टै मन्त्री बन्नुभएको थियो । आफ्नो चुनाव चिह्नबाट विजयी भएर पनि ह्विप उल्लंघन गरेको भन्दै माओवादीले उहाँलाई कारबाही गरेको थियो । त्यसविरुद्ध देवकोटा सर्वोच्च जानुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.