यथास्थितिमा देश अगाडि जान सक्दैन : एमाले अध्यक्ष ओली

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
यथास्थितिमा देश अगाडि जान सक्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उहाँले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताउनुभयो । उहाँले अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको उल्लेख गर्नुभयो ।

उहाँले उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभयो । उहाँले गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा मोटो चामलको भए पनि उत्पादन बढाउनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छाडेपछि गाउँ अहिले उजाड बनेको बताउनुभयो ।

‘हामीले अहिले चिन्ता गर्नुपर्ने कुरा भनेको, मसिनो खाने बानी पर्‍यो, मसिनो खाने बानी परेकालाई खान दिउँ । तर मसिनो होइन हामीलाई मोटा चामल भए पनि खान पुग्नुपरेको छ । गरिबीबाट माथि उठ्न परेको छ । मसिनो चामल, मोटो चामल जति फल्दैन । त्यसलाई त्यत्तिकै फल्नेमा पुर्‍याउनुपर्छ,’ ओलीले भन्नुभयो, ‘हामीले यसलाई आधुनिकीकरणतर्फ लैजानुपर्छ, टेक्नोलोजीको प्रयोगतर्फ लैजानुपर्छ भनिरहेका छौं, तर सरकारी तवरबाट यस सम्बन्धमा नीति निर्माण हुन सकेको छैन । ठोस नीति निर्माण हुनुपर्‍यो नि । ठोस नीति आउनुपर्छ, के गर्ने ?’

नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौती निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यालाई खान लगाउन पाउने अवस्थामा पुर्‍याउनु चुनौती उहाँको भनाइ छ । अध्यक्ष ओलीले गरिबीसँगै बेरोजगारी बढ्दै जाने बताउनुभयो । देश बनाउनुजस्तो ठूलो पुण्य कार्य अरु हुन नसक्ने उहाँको भनाइ थियो ।

‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन । कसैले जिद्दी गर्नु हुँदैन । अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो,’ उहाँले भन्नुभयो, ‘उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्छ । कृषिको आधुनिकीकरणले रोजगारीका थुप्रै अवसर सिर्जना गर्छन्, कृषिमा आधारित ससाना उद्योगहरु र त्यो विस्तारै गएर ठूला उद्योगमा परिणत हुनसक्छ । कृषिमा आधारित उद्योगहरुले निर्यातमूलक उद्योगहरुको रुप लिनसक्छ ।’

अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सानातिना नियुक्तिहरुमा नअल्झिन परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.