टीआरसी विधेयकको विवादमाथि जुटेन सहमति

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
टीआरसी विधेयकको विवादमाथि जुटेन सहमति

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित विधेयकका विवाद सुल्झाउने विषयमा छलफल भए पनि सहमति भने हुन सकेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच आज (बिहीबार) साँझ छलफल भएको हो । बैठकमा सहभागी कानुनमन्त्री पदम गिरीले टीआरसी विधेयकका विवादित बुँदामा छलफल भएको र आन्तरिक गृहकार्यपछि फेरि छिटै बैठक बस्ने सहमति भएको जानकारी दिनुभयो ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्‌को कानुन समितिमा विचाराधीन छ । विधेयकका अन्य विषयमा सहमति जुटे पनि मेलमिलाप, मानवअधिकारको गम्भीर उल्लंघन, बाल सैनिक र द्वन्दपीडितलाई क्षतिपूर्ति तथा परिपूरणका विषयमा मुख्य दलहरुबीच नै सहमति जुट्न सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.