टीआरसी विधेयकमा सहमति खोज्न बालुवाटारमा सत्तापक्ष-प्रतिपक्ष छलफल

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
टीआरसी विधेयकमा सहमति खोज्न बालुवाटारमा सत्तापक्ष-प्रतिपक्ष छलफल

काठमाडौं । प्रमुख तीन दलबीच संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति खोज्न छलफल भएको छ ।

कांग्रेससहितको गठबन्धनकै बेला अघि बढाउन खोजिएको टीआरसी विधेयक त्यसबेला एमालेको असहमतिका कारण रोकिएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी ओलीलगायत नेताहरुबीच टीआरसीमा सहमति खोज्ने प्रयास स्वरुप छलफल भएको हो ।

कांग्रेस नेतृत्वको गठबन्धनपछि गत फागुनमा एमालेसहितको समीकरण बने पनि टीआरसीसम्बन्धी विधेयक संसद्‌मै थन्किएको छ ।

एमाले, माओवादीको सहकार्य सुरु भएपछि टीआरसीमा एमाले लचिलो देखिए पनि कांग्रेसले चासो नदेखाएका कारण संसद्‌मा थन्किएको छ । २०७५ सालपछिका १२ वटा सरकारले शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने प्रतिबद्धता जनाउँदै आए पनि प्रमुख दलको राजनीतिक स्वार्थका कारण संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा अझै टुंगो लाग्न सकेको छैन ।

गत फागुनमा कांग्रेस नेतृत्वको गठबन्धनपछि बनेको एमालेसहितको समीकरण बने पनि टीआरसीसम्बन्धी विधेयक संसद्‌मा थन्किएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने आफ्नो प्रमुख प्राथमिकतामा भएको बताए पनि अघि बढ्न सकेको छैन ।

यसअघि प्रधानमन्त्री दाहालले कांग्रेससहितको गठबन्धनकै बेला विधेयक अघि बढाउन खोजे पनि विपक्षमा रहेको एमालेले रोकेको थियो । अहिले सत्तापक्ष तयार देखिँदा प्रतिपक्षमा रहेको कांग्रेसले चासो दिएको छैन ।

नयाँ समीकरण बनेपछि पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मा टीआरसीसम्बन्धी कानुन तत्काल कानुन बनाउने प्रतिबद्धता गरेका थिए । सत्य निरुपण गरी पीडितलाई न्याय दिने, गम्भीर मानवअधिकार उल्लंघन गर्नेलाई सजाय दिने, बेपत्ता नागरिकको छानबिन गर्नेलगायत विषय भने अझै बाँकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.