महाधिवेशन आउन डेढ वर्ष बाँकी छँदै कांग्रेसका नेताहरुको दौडधुप

विश्वासपात्र खोज्दै देउवा
सभापतिका आकांक्षीहरु देउवाको विश्वास जित्ने होडमा
असार ९, २०८१ |प्रकाश बम
महाधिवेशन आउन डेढ वर्ष बाँकी छँदै कांग्रेसका नेताहरुको दौडधुप

काठमाडौं । लगातार दोस्रोपटक पार्टीको नेतृत्व गरिरहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल २०८२ मंसिरमा सकिँदै छ । कांग्रेसको विधानअनुसार लगातार दुई पटकभन्दा बढी सभापति बन्न पाइँदैन ।

चौधौं महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यकाल अझै डेढ वर्ष बाँकी रहँदा कांग्रेसका नेताहरुले भने महाधिवेशनकै झल्को दिने गरी दौडधुप गरिरहेका छन् । सभापति देउवाले नेतृत्व हस्तान्तरणका लागि विश्वास पात्र खोजिरहनुभएको छ भने सभापतिका आकांक्षी नेताहरुले पनि देउवाको विश्वास जित्न खोजिरहेका छन् ।

नेपाल महिला संघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो-सभापति शेरबहादुर देउवा । सोही कार्यक्रममा नेता शेखर कोइरालालाई वरिष्ठ नेताका रुपमा आमन्त्रण गरिएको थियो । 

पार्टी वरीयतामा २६ नम्बरमा रहनुभएका कोइरालालाई कांग्रेस संस्थापन पक्षले गरेको कार्यक्रममा वरिष्ठ नेताका रुपमा आमन्त्रण गरेको सम्भवतः यो नै पहिलो कार्यक्रम हो । यही कार्यक्रमपछि संस्थापन पक्षकै कतिपय नेताले आगामी महाधिवेशनमा देउवाले कतै कोइरालालाई नै आफ्नो पक्षबाट सभापतिमा अगाडि सार्ने तयारी गर्नुभएको त होइन ? भन्ने कोणबाट हेर्न थालेका छन् । संस्थापनबाहिरका नेताहरु पनि कोइराला देउवासँगको दूरी बढाउनेभन्दा पनि घटाउने पक्षमा रहेको स्वीकार्छन् । ‘त्यस्ता खालका प्रयास हुनु स्वाभाविक हो । कुनै पनि खालका नयाँ परिणाम बन्न सक्छन्,’ कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम भन्नुहुन्छ ।

त्यसो त कोइराला परिवारकै अर्का नेता शशांक कोइराला पनि आगामी महाधिवेशनमा सभापतिका आकांक्षी हुनुहुन्छ । चौधौं महिधवेशनमा देउवालाई सघाउनुभएका कोइराला १५औं महाधिवेशनमा देउवाले आफूलाई सघाउनेमा ढुक्क हुनुहुन्छ । ‘देउवाजीले मलाइ नै सहयोग गर्नुहुन्छ । म ढुक्क छ,’ शशांक कोइरालाको भनाइ छ ।

संस्थापन पक्षमै देउवाको उत्तराधिकारी बन्न थुप्रै नेता लालायित छन् । उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासमेत सभापतिका आकांक्षी हुन् । पछिल्ला दुई महाधिवेशनमा कुनै न कुनै रुपमा देउवालाई साथ दिएका यी नेतामध्ये कसैलाई पनि देउवाले वचन दिइसक्नुभएको छैन ।

उनीहरुमा पनि एकले अर्कालाई समर्थन गर्ने अवस्था देखिँदैन । त्यसैले यो समूहमा विश्वासिलो नेताको खोजी भइरहेको छ । ‘आकांक्षीले देउवा फकाउने र देउवाले पात्र खोज्नका लागि सबैलाई इंगेज गराइ रहेको अवस्था छ,’ कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर भन्नुहुन्छ ।

१४औं महाधिवेशनमा कोइराला समूहबाट महामन्त्री निर्वाचित गगन थापा १५औं महाधिवेशनमा सभापति बन्ने तयारीमा हुनुहुन्छ । महाधिवेशनलाई लक्षित गरेर देश दौडाहा गरिरहनुभएका थापालाई विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायत नेताको साथ छ । ‘सबैजना दौडमा हुनुहुन्छ । नीति र भिजनसहित हामी आउँछौं भन्ने हाम्रो दाबी हो,’ केन्द्रीय सदस्य पौडेलको भनाइ छ । 

आगामी महाधिवेशनपछि पार्टीको कार्यकारी भूमिकामा नरहने भएकाले देउवा आफ्नी पत्नी आरजुलाई व्यवस्थापन गर्ने रणनीतिमा हुनुहुन्छ । त्यसैले आरजुलाई उपयुक्त भूमिका दिने नेतालाई देउवाको समर्थन हुनसक्ने राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालको बुझाइ छ ।

अनुकूलता र अंकगणितको राजनीति गर्न खप्पिस देउवा संसद्‌को यही कार्यकालमा पुनः प्रधानमन्त्री बन्ने र महाधिवेशनमा पनि निर्णायक बन्ने योजनामा हुनहुन्छ । देउवाको विश्वासपात्रको खोजी र इतरपक्षमा पनि बढी आकांक्षी देखिँदा महाधिवेशनसम्म पुग्दा हालको समीकरण नै फेरबदल हुनसक्ने सम्भावना पनि उत्तिकै छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।