जनता समाजवादी पार्टी नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि निर्वाचन हुँदै
जेष्ठ ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

धनुषा । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनु भएको छ । निर्वाचन प्रक्रियाअनुसार अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आउनु भएका यादव जनकपुरधाम महाधिवेशबाट पुन: अध्यक्ष बन्नु भएको हो । महाधिवेशनबाट २० सदस्यीय पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय कमिटीका लागि मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । सह-अध्यक्षका लागि मधेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, रकम चेम्जोंग र राजकिशोर यादवको मनोनयन परेको छ ।

पाँच उपाध्यक्षका लागि निर्वतमान मुख्यमन्त्री सरोजकुमार यादव, हरिनारायण यादव, अर्जुन थापा, गोविन्द चौधरी, मृगेन्द्र यादवलगायतले मनोनय दर्ता गराउनुभएको छ । त्यसैगरी २ महासचिवमा मनिष सुमन, दीपक कार्की र विजय यादवले उम्मेदवारी दिनुभएको छ । जसपाको विधान अनुसार ५ जना उपमहासचिव, ७ जना सचिव र १ जना कोषाध्यक्षका लागि ५० जनाभन्दा बढी प्रतिस्पर्धी छन् । देशैभरका १४ सयभन्दा बढी प्रतिनिधि सहभागी रहेको जसपाको महाधिवेशन नयाँ नेतृत्व चयनसँगै आजै सम्पन्न हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.