काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) कसले सञ्चालन गर्ने ? संघले कि प्रदेशले ? अथवा एसईई विद्यालय तहमै सञ्चालन गर्ने कि ? संसदीय समिति र सरकारबीचका फरक फरक कुराले केही समययता यस्ता अन्योल बढाएका छन् ।
यही अन्योलबीच परीक्षा नियन्त्रण कार्यालयले एसईईको रजिस्ट्रेशन फर्म भराएर शुल्क असुल्न थालेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले यतिखेर २०८२ सालको एसईईको रजिस्ट्रेशन फर्म भराइरहेको छ । तर एसईईबारे संसदीय समिति र संघीय सरकारबीच फरक फरक कुरा आइरहेकाले अन्योल सिर्जना भएको छ । विद्यालय शिक्षा विधेयक अहिले व्यवस्थापिका संसद्को शिक्षा समितिमा दफावार छलफलका क्रममा छ । सरकारले कक्षा १ देखि ८ सम्म आधारभूत र ९ देखि १२ सम्म माध्यमिक शिक्षा भनी परिभाषित गरेको छ ।
माध्यमिक शिक्षाको अन्तिम १२ कक्षामा मात्र राष्ट्रिय रूपमा परीक्षा सञ्चालन गर्ने र कक्षा १० अन्तिममा लिइने एसईई विद्यालय आफैंले लिने गरी शिक्षा उपसमितिले निर्णय गरिसकेको छ । विद्यार्थीलाई परीक्षाको थप भार पर्न नदिने गरी यसो गरिएको शिक्षा उपसमितिको दाबी छ ।
तर सरकारले भने एसईई सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने भनी बजेटमै उल्लेख गरिसकेको छ । यसरी व्यवस्थापिका र कार्यपालिकाबीच एसईई सञ्चालनका विषयमा मत बाझिँदा शिक्षक, विद्यार्थी र अभिभावक सबै अन्योलमा परेका छन् ।
२०८२ को एसईईमा समावेश हुनका लागि कक्षा ९ मै रजिस्ट्रेशन फर्म भराइने गरिएको थियो । तर अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने उल्लेख भएपछि एसईईको रजिस्ट्रेशन बापतको शुल्क के गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयको निर्णयमा ढिलाइमा हुँदा यसपालि कक्षा १० मा मात्र भराइएको हो ।
रजिस्ट्रेशन बापत प्रतिविद्यार्थी ३ सय रुपैयाँ लिइएको छ । अघिल्लो वर्ष ४ लाख २१ हजार विद्यार्थीले रजिस्ट्रेशन फर्म भरेकोमा यसपालि त्योभन्दा धेरैले भरेका छन् ।
सरकारले ६ वर्षअघि एसईईमा लेटर ग्रेडिङ प्रणाली लागू गरी शून्यदेखि २० अंकसम्म आएकाले पनि माथिल्लो कक्षामा पढ्न पाउने व्यवस्था गरेको थियो । यसले विद्यार्थीको सिकाइ उपलब्धि र गुणस्तर झनै खस्कँदै गएको थियो ।
एसईई कुनै न कुनै निकायले लिने व्यवस्थाले मात्र विद्यार्थीको मूल्यांकन र सिकाइमा सुधार हुने विज्ञ र सरोकारवालाको भनाइ छ । त्यसैले हरेक वर्ष ५ लाख विद्यार्थीको भविष्य र सिकाइ उपलब्धिसँग जोडिएको एसईई सञ्चालनमा भएको अन्योलको वातावरण हटाउन पनि उत्तिकै आवश्यक छ ।