काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा पनि सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको दोहोर्याएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमै विशेष समय लिएर कांग्रेस सांसद ईश्वरी न्यौपानेले प्रधानमन्त्रीले अनुसन्धानबिना नै गृहमन्त्रीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाइन् । उनले संसदीय छानबिन समिति गठन हुनुपर्ने र समिति गठन नभएमा संसदको आगामी बैठक चल्न नसक्ने चेतावनी दिइन् ।
हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको जवाफ दिँदै उनी दोषी नभएको जिकिर गरेका थिए भने त्यस लगत्तै नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय समिति गठनको माग गरेको थियो ।
आजको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । आजको बैठकमा कृषिमन्त्री ज्वाला साहले खाद्य स्वच्छता तथा सुरक्षा विधेयक पेस गर्ने कार्यसूची छ । त्यस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ भने अर्थमन्त्री वर्षमान पुनले छलफलमा उठेका प्रश्नको जवाफ दिने पनि आजको कार्यसूचीमा समेटिएको छ ।