राष्ट्रिय सभा निर्वाचन : कोशीमा किन बढ्‍यो कांग्रेस र माओवादीबीच असमझदारी ?

माघ १३, २०८० |अर्जुन सुवेदी
राष्ट्रिय सभा निर्वाचन : कोशीमा किन बढ्‍यो कांग्रेस र माओवादीबीच असमझदारी ?

सुनसरी । कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको परिणामले सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच असमझदारी बढेको छ । 

गठबन्धनको मतभार बढी हुँदाहुँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएपछि सत्ता साझेदार माओवादी केन्द्र असन्तुष्ट बनेको हो । कोशीमा राष्ट्रिय सभा निर्वाचनको परिणामले पहिलो र दोस्रो ठूला पार्टी कांग्रेस र एमालेले आफ्ना उम्मेदवार सुरक्षित गर्न सफल हुँदा त्यसले राजनीति तरंगित बनेको छ । 

बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट नेकपा एमालेकी रुक्मिणी कोइराला र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित भए । एमालेकी कोइरालाले माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै राष्ट्रिय सभा सदस्य बनिन् । सुनसरीको इटहरी निवासी कोइराला ४७ वर्षदेखि एमालेको राजनीतिमा क्रियाशील छन् । जनप्रतिनिधिले पार्टी राजनीतिबाट माथि उठेर इमानदार व्यक्तिलाई हेरेका कारण आफू चुनाव जित्न सफल भएको उनको दाबी छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धको पाँच हजार चार सय ३६ मतभार खसेको थियो भने नेकपा एमालेको तालमेलमा चार हजार चार सय चार मतभार खस्को थियो । तर कोइरालालाई सत्ता गठबन्धनका तीन जना प्रदेश सभा सदस्य र १७ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका छन् । नेपाली काग्रेसले धोका दिएका कारण आफ्नो उम्मेदवार पराजित भएको माओवादीको भनाइ छ ।

कुनै पार्टी जनप्रतिनिधिले धोका दिएको रुपमा भन्दा पनि माओवादी सशस्त्र द्वन्द्वको समयमा माओवादीका कारणले दुःख पाएका वा समस्यामा परेकाले मत नदिएको हुनसक्ने राजनीतिक विश्लेषकको तर्क छ ।

अन्य तर्फबाट विजयी कृष्णप्रसाद सिटौलाले पनि गठबन्धनको सबै मत ल्याउन सकेनन् । उनलाई दुई जना प्रदेशसभा सदस्य र चार जना स्थानीय तहका जनप्रतिनिधिले मत दिएनन् ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।