काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाउनुभएको छ ।
काठमाडौंको दरबारमार्गमा एमालेले जनसभा गर्दा फोहर गरेको भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना तोकेपछि महासचिव पोखरेलले यस्तो आरोप लगाउनुभएको हो । कार्यक्रम समापनपछि आयोजकले नै सरसफाइ गरेको दाबी गर्दै महासचिव पोखरेलले महानगरले सरसफाइमा सहयोग गर्नुको साटो जरिवानाको प्रचार गरेको बताउनु भयो । पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'मेयरको ध्यान सरसफाइमा होइन, स्टन्टबाजीमा थियो ।'
यस्तो छ पोखरेलको स्टाटस:
काठमाडौं महानगरका मेयर बालेन नेकपा (एमाले) का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिबेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयंसेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो ।
तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो ।
नेकपा (एमाले) पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर वालेनलाई ।
जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।