विराटनगर । नियुक्त भएको एक महिनापछि कोशी प्रदेशका मन्त्रीहरूले जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले मन्त्रीहरूको कार्यविभाजन गरेका हुन् ।
नेपाली कांग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी माओवादी केन्द्रका गणेशप्रसाद उप्रेतीले पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना, उद्योग, कृषि तथा सहकारी, खानेपानी, सिँचाइ तथा ऊर्जा, सामाजिक विकास र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कार्की आफैंसँग राखेका छन् ।
असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले भोलिपल्ट कांग्रेसका राई र एमालेका रामबहादुर राना मगरलाई विनाविभागीयमन्त्री बनाएका थिए । कात्तिक १७ मा माओवादी केन्द्रका उप्रेती र एकीकृत समाजवादीका जवेगुलाई पनि उनले विनाविभागीयमन्त्री नियुक्त गरेका थिए ।
माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा सहभागी भएपछि एमाले भने सरकारबाट बाहिरिएको थियो । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम एमालेका ३९ र नेपाली कांग्रेसका आठ गरी ४७ जना प्रदेश सभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्री बनेका कार्कीले मन्त्री परिषद्लाई पूर्णता दिन भने सकेका छैनन् ।
कांग्रेसबाटै क-कसलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । मुख्यमन्त्री कार्यालयले भने गठबन्धन दलहरूबीच सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेकाले मन्त्रिपरिषद्ले छिटै पूर्णता पाउने बताएको छ ।