बुटवल । संघीयताको वास्तविक कार्यान्वयनका लागि तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी दिन पार्टी केन्द्रसँग आग्रह गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सकिएको छ ।
बुटवलमा शनिबारबाट सुरु भएको सम्मेलनले पार्टीका तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो ।
सम्मेलनको समापनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले संघीय संरचनाअनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गरे । सम्मेलनले संघीय लोकतान्त्रिक गणतन्त्रअनुसार पार्टीको संरचनालाई चलायमान बनाउन र स्थानीयलाई स्थानीयले र प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिन सुझाएको छ । प्रदेश सभापति पुनले संघीय सरकारले पनि संविधानअनुसार प्रदेश सरकारलाई अधिकार दिएर प्रदेशलाई चलायनमान गराउन सम्मेलनमार्फत आग्रह गरिएको समेत जानकारी दिए ।
मुलुकको विकास र समृद्धिका लागि अरु पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नुपर्ने भन्दै प्रदेश सम्मेलनले अन्तरपार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय सहकार्य गर्ने गर्ने निर्णय गरेको छ । यस्तै कांग्रेसको क्रियाशीलताका लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनले आग्रह गरेको छ । पार्टीमा एकपटक केन्द्रीय सदस्य भएकाहरु पनि तल्लो तहबाट स्वत: प्रतिनिधि भन्ने व्यस्था खारेज गर्न, सबैले तलैदेखि लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ ।
शनिबार सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनको आइतबार बन्द सत्र भएको हो । कांग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापाको प्रमुख आथित्यतामा भएको बन्द सत्रमा केन्द्रीय सदस्यहरुको पनि सहभागिता थियो । बन्द सत्रमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाद्वारा प्रस्तुत प्रतिवेदनमाथि ४ वटा समूहगत छलफल भएको थियो । सम्मेलनमा करिब ७५० प्रतिनिधिको सहभागिता थियो ।