काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको मिति तोकिएको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते हुने निर्वाचनको उम्मेदवारी दर्ताको मिति तोकिएको जानकारी दिएको हो ।
आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते बिहान १० बजेदेखि ३ बजेसम्म गरिने जनाएको छ ।
पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र उजुरीमाथि जाँचबुझ गरी पुस २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उम्मेदवारी फिर्ता लिन पुस २७ गते दिउँसो २ बजेसम्मको समय छुट्याइएको र सोही दिन २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी गरी पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगको विज्ञप्तिमा उल्लेख छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतदान सकिएलगत्तै मतगणना गरिने पनि आयोगले जनाएको छ ।
यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् । निर्वाचन ऐन २०७४ अनुसार समानुपातिकतर्फको बन्दसूचीमा नाम रहिरहेको अवस्थामा राष्ट्रियसभामा उम्मेदवार बन्न नपाउने आयोगले स्पष्ट पारेको छ ।