कांग्रेस पदाधिकारी बैठक : भूकम्पपीडितलाई थप सहयोग गरिने

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
कांग्रेस पदाधिकारी बैठक : भूकम्पपीडितलाई थप सहयोग गरिने

काठमाडौं । नेपाली कांग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितलाई थप सहयोग गर्ने तयारी गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा राहत उद्धार, पुनर्निर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भएको पार्टीका नेता एवं अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए । बैठकमा समसामयिक विषयमा पनि छलफल भएको उनको भनाइ छ । उनले सरकारले अस्थायी आवासका लागि प्रभावित परिवारलाई दिने भनेको ५० हजार रुपैयाँ आजै जिल्ला तहमा पुग्ने दाबी गरे । प्रभावित परिवारलाई सहयोगका लागि पार्टीको आह्वानमा खटिन चाहनेले अस्थायी आवास निर्माणका लागि सहयोग गर्नसक्ने बारेमा पनि बैठकमा छलफल भएको महतको भनाइ छ ।

‘भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जुन भूकम्बाट क्षति भयो, त्यसपछिको राहत उद्धार, पुनर्निर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भयो । थप समसामयिक विषयमा पनि छलफल भयो । भूकम्पप्रभावित क्षेत्रमा सरकारले ५० हजारका दरले हरेक क्षति भएका घरका परिवारलाई दिने अस्थायी आवासका लागि भनेको छ । त्यो चाँडै पुग्नुपर्ने र आज जिल्ला तहमा पुग्छ र जिल्ला विपद् कोषले गाउँपालिकामार्फत सम्बन्धितकोमा पुग्छ, त्यसपछि अस्थायी आवास बनाउनुहुनेछ । पार्टीले त्यहाँ स्वयंसेवक बेसिसमा सहयोग गर्न चाहनेहरुलाई परिचालन गर्ने कुरा भएको छ ।’

मन्त्री महतले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रुपमा हेरिरहेको जानकारी दिए । उनले संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरे पनि समाजभन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने बताए । मंसिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याबारे सरकार सचेत रहेको उनले दोहोर्याए ।

‘हामी लोकतन्त्रमा विश्वास गर्ने सरकार र पार्टी हो । संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको छ । अभिव्यक्ति, बिरोध, माग गर्ने स्वतन्त्रता सुनिश्चित छन् । तर एकै ठाउँमा दुईपक्षीय उपस्थित हुने, त्यसबाट आउनसक्ने समस्याबारे सरकारले नजिकबाट हेरिरहेको छ । सडकको परिस्थिति आउन नदिने, कुरामा सरकार सचेत छ । समाज बाहिर गएर कुनै पनि गतिविधि हुनु हुँदैन,’ उनले भने, ‘अहिले सामाजिक सञ्जालदेखि हरेक माध्यमको प्रयोग गरेर आफ्नो अभिव्यक्ति दिइरहेका छन् । त्यो त लोकतन्त्रले दिएको हो ।’ ‘

अर्थमन्त्री महतले अधिकार प्राप्तिको स्वतन्त्रताका लागि आफूहरु पनि लड्न तयार रहेको जनाए । उनले भने, ‘अधिकारको लागि जुन पार्टीहरु लडे, जनताहरु लडे, त्यहाँबाट आएको हो । अधिकार प्राप्तिको स्वतन्त्रताका लागि हामी भोलि पनि लड्छौं । हामीले पाएको अधिकारको प्रयोग गरेर त्यही अधिकारको निषेध गर्ने प्रवृत्तिलाई प्रोत्साहन दिनु हुँदैन ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.