काठमाडौं । कोशी र कर्णालीमा जारी नेकपा एमालेको प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अझै मतदान सुरु भएको छैन । कोशी प्रदेशको नेतृत्वका लागि विनोद ढकाल र घनश्याम खतिवडाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २१५ सदस्य चयन गर्नेछ । त्यसका लागि ३५७ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध भएका छन् ।
सचिवमा राजकुमार भण्डारी र शैलेश लामाको उम्मेदवारी परेको छ । सर्वसम्मतमा पदाधिकारी चयन गर्न छलफल चलिरहेका कारण आज ११ बजे हुने भनिएको मतदानबारे अन्योल छ । अधिवेशनमा ९९७ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् ।
यसैबीच एमालेको कर्णाली अधिवेशनअन्तर्गत आज बिहान ८ बजे सुरु हुने भनिएको निर्वाचन पनि अझै सुरु हुन सकेको छैन । मतदान सुरु गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत मातृका खनालले जनाए । अधिवेशनले पाँच पदाधिकारीसहित १३५ सदस्य निर्वाचित गर्नेछ ।