बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली एमाले नेताहरुसहित बालुवाटार पुगेका छन् । अहिले प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल भइरहेको हो ।

दुई नेताबीचको भेटमा एमाले उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौला पनि सहभागी छन् । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि ओली बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री दाहाल र ओलीबीच सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका विषयमा छलफल भएको जनाइएको छ ।

सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएको प्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ । आयोग गठनका लागि तोकिएको समय असोज ५ गते गठन हुन सकेको थिएन । यसै विषयलाई लिएर एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।

प्रतिनिधि सभा बैठकमा यो विषय उठाउने र संसद अवरुद्ध हुन सक्ने सचेतक बर्तौलाले जनाएका थिए । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रतिनिधि सभा बैठकअघि राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुबीच पनि छलफल हुने भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बिहान ११ बजे राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक बालुवाटारमै हुने जानकारी दिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.