काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ ।
आजको बैठकमा विवादित बनेको विद्यालय शिक्षा विधेयक २०८० पेस हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उक्त विधेयक संसदमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएपछि विवाद उत्पन्न भएको थियो । विधेयकको विरोधमा देशभरका शिक्षकहरु पठनपाठन ठप्प पारेर राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका थिए । सरकार र नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो । सरकारले शिक्षकहरुका मागलाई सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको हो ।
संसदको कार्यसूचीअनुसार विधेयक पेस गर्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । यस्तै प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाउनेछन् ।
यो पनि...
सरकार र शिक्षकबीच ६ बुँदे सहमति (भिडियोसहित)