एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

भाद्र २०, २०८० |अमृता अनमोल|भुवन पाण्डे
एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

बुटवल । एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । एमाले लुम्बिनीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पाल्पाका कँडेल र प्यूठानका हरिप्रसाद रिजालबीच प्रतिस्पर्धा भएको थियो । 

तीव्र प्रतिस्पर्धाका बीच २ मतको अन्तरले कँडेल विजयी भएका हुन् । कँडेलले ४ सय ७९ मत ल्याउँदा रिजालले ४ सय ७७ मत प्राप्त गरेका थिए । निर्वाचित कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले ४ सय ५५ मत ल्याउँदा उनका निकतटम प्रतिस्पर्धी विश्वराज बरालले ३ सय ६ मत ल्याए । उपाध्यक्षमा श्रेष्ठ र बरालसहित पुजन विश्वकर्मा र शान्तकुमार वली पनि प्रतिस्पर्धामा थिए । रिजाल र बराल शंकर पोखरेल निकटका हुन् ।

सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । उपसचिव खुलामा पूर्ण बुढामगर विजयी भएका छन् । बुढामगरले ४ सय १८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी दुर्गाप्रसाद थारु चौधरीले ३ सय ९१ मत ल्याए ।

महिला उपसचिवमा लीला राना विजयी भएकी छन् । रानाले ३ सय ५२ मत ल्याउँदा निकटतम प्रतिस्पर्पर्धी वसन्ती अधिकारीले ३ सय ५१ मत ल्याइन् । खुला सचिव र महिला दुवैमा ३/३ जना प्रतिस्पर्धामा थिए । यस्तै लेखा समितिमा दामोदर घिमिरे विजयी भएका छन् ।

पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । ४ पदाधिकारीसहित भूगोलतर्फ रुपन्देही, बाँके दाङ र गुल्मीसहित ४ जिल्लाका लागि मतदान भएको थियो । महाधिवेशनबाट २ सय ५ सदस्यीय कमिटी निर्वाचित भएको छ । 

मत परिणाम सार्वजनिक गरेपनि निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । बुधबार बिहान औपचारिक घोषणासहित प्रमाणपत्र वितरण गरिने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।

Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement