भृकुटीमण्डपमा दक्षिण एसियाली पुस्तक मेला, पाठकको रोजाइ कस्तो ?

पुस २०, २०८१ |प्रकाश बम
भृकुटीमण्डपमा दक्षिण एसियाली पुस्तक मेला, पाठकको रोजाइ कस्तो ?

काठमाडौं । काठमाडौंमा बेला-बेला पुस्तक प्रदर्शनी भइरहन्छ । आफ्ना रुचिका पुस्तक खोज्न र पढ्न यस्ता प्रदर्शनी सहयोगी बन्छन् ।

अहिले भृकुटीमण्डपमा दक्षिण एसियाली पुस्तक मेला चलिरहेको छ । १५० भन्दा बढी स्टल रहेको मेलामा मानिसहरू रुचिपूर्वक पुस्तक खोजिरहेका देखिन्छन् । कस्ता पुस्तक खोजिरहेका छन् त पाठक ?

कथा पढ्न मनपराउने ललितपुरकी समृद्धि कार्कीको रुचि आजभोलि बदलिएको छ । स्नातकोत्तर अध्ययरत कार्की आजकाल शिक्षासँग सम्बन्धित अनुसन्धानात्मक पुस्तक पढ्नुहुन्छ । भृकुटीमण्डपमा जारी पुस्तक मेलामा विभिन्न ११ वटा पुस्तक किन्नुभएकी कार्कीलाई सबैभन्दा राम्रा लागेका पुस्तक हुन्-एन्थ्रोपोलोजी इन नेपाल एजुकेशन र द राना कुकबुक ।

नेपालको इतिहास नामक पुस्तक नियालिरहनु भएका ज्ञानेन्द्रबहादुर बानियाँले दुई वटा पुस्तक किन्नुभयो जुन इतिहाससँग सम्बन्धित छन् । बानियाँलाई नेपाली इतिहासमा गोपालवंश र लिच्छविकालदेखि पृथ्वीनारायण शाहसम्मका राजकाज र इतिहास जान्न मन छ ।

विभिन्न ७ भाषाका पुस्तक राखिएको यही मेलामा सुर्खेतका परेकराज न्यौपाने शाखा अधिकृतको तयारी सम्बन्धी पुस्तक हेरिरहेका भेटिए । मेलामा सबै उमेर समूहका पाठक भेटिए । गजल र कविताका पुस्तक खोज्नेहरू पनि भेटिए । १० कक्षा पढ्दै गरेका विद्यार्थीले पनि आफ्नो पाठ्यपुस्तक बाहेक कथा, उपन्यास, जीवनी र धार्मिक ग्रन्थमा रुचि राखेको पाइयो । सबै खालका पुस्तक बिक्री भइरहेकोमा व्यवसायी र आयोजकहरू पनि सन्तुष्ट छन् ।

कागजकै किताब सुम्सुम्याउँदै पढ्न मन पराउनेहरू मेला र प्रदर्शनीमा मात्र होइन, अरू बेला पनि रुचि अनुसार खोजी खोजी किताब पढ्ने गर्छन् । उनीहरूमा प्रविधि र सामाजिक सञ्जालका कारण पुस्तक पढ्ने क्रम घटेको हो कि भन्ने चिन्ता चाहिँ भेटिन्छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement