भारतको नयाँ संसद्‌मा नेपाली भूमिसहितको नक्साबारे आफूले कुरा नउठाएको भन्ने साँचो होइन : प्रधानमन्त्री दाहाल

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
भारतको नयाँ संसद्‌मा नेपाली भूमिसहितको नक्साबारे आफूले कुरा नउठाएको भन्ने साँचो होइन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने साँचो नभएको दाबी गरेका छन् ।

राष्ट्रियसभा बैठकमा बुधबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यो विषयमा आफूले भारतीय पक्षसँग गम्भीरतापूर्वक कुरा उठाएको स्पष्टीकरण दिए । प्रधानमन्त्री दाहालले मिडियामा त्यसबारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि जनाए ।

उनले यो विषयमा भारतसँग अझ बढी अध्ययन र छलफल गर्ने आश्वासनसमेत दिए । ‘पहिलो कुरा संसद्‌को नक्साबारे कुरा भयो । मैले गम्भीर रुपमै उठाएँ । किनकि त्यो धेरै अध्ययन भइसकेको त थिएन । तर पनि जसरी मिडियामा आएको थियो । त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ । यो के हो नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरुले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिएँ,’ प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले भारतको नयाँ संसद्‌मा राखिएको नक्सा सांस्कृतिक भएको कुरा पनि भारतीय पक्षले राखेको जानकारी दिए । ‘यो कुनै राजनीतिक नक्सा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरुको जवाफ थियो,’ उनले भने, ‘अब योबारे अझ बढी अध्ययन गर्ने, छलफल गर्ने कुरा त बाँकी नै छ । त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.