सिंहदरबारमा दाहाल–ओली जुहारी

वैशाख २३, २०८० |कान्तिपुर टीभी संवाददाता
सिंहदरबारमा दाहाल–ओली जुहारी

काठमाडौं । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणले देशको राजनीति तातेको छ । बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र टोपबहादुरका छोरा सन्दीप रायमाझी समेत पक्राउ परिसकेका छन् भने पूर्वगृहमन्त्री वालकृष्ण खाणको नाम पनि मुछिनुका साथै पूर्वउपप्रधानमन्त्री टोपबहादुर र पूर्वमन्त्री रामबहादुर थापाका छोरा प्रतिकलाई प्रहरीले खोजी गरिरहेको छ । यस सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली भने आफ्ना नेतामाथि अनुशासनको कारवाही गर्नुको साटो कारबाहीबाट बचाउने अभियानमा सक्रिय देखिएका छन् ।

एमाले केपी शर्मा शर्मा ओलीले विहीबार यता दुईपटक सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरे । भेटको विषय एउटै थियो – नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री, एमाले सचिव एवं बहालवाला सांसद टोपबहादुर रायमाझीलाई नपक्रन प्रधानमन्त्री दाहालको ‘ध्यानाकर्षण’ गर्नु । तर, विहीबार केही कडा देखिएका ओलीले शनिबारको भेटपछि भने टोपबहादुरको बचाऊमा मुख खोल्न सकेनन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमालेका नेता रायमाझीको विषयलाई लिएर शनिबार एमाले अध्यक्ष ओलीले दोस्रोपटक प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे । विहीबार षड्यन्त्रपूर्वक रायमाझीलाई समाउन खोजिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका ओलीले शनिबारको भेटपछि भने पत्रकारका प्रश्न छल्ने प्रयास गरे ।

शनिबार सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकार र एमाले अध्यक्ष ओलीवीचको सम्वाद यस्तो थियो–

पत्रकार– अध्यक्षज्यू तपाईले लगातार प्रधानमन्त्रीलाई भेटिरहनुभएको छ । अस्ति उपप्रधानमन्त्री भइसकेका मान्छे त्यसरी हराउँछन् र भन्नुभएको थियो । अहिले त हराइरहेका छन्, कहाँ बस्नुभएको छ उहाँ ?

ओली– त्यो तपाईहरुले खोज्नोस् न ।

पत्रकार– तपाईको त सम्पर्कमा हुनुहन्छ होला नि ?

ओली– (गाडीमा चढ्दै) मेरो सम्पर्कमा.......

पत्रकार– कहिले आउनुहुन्छ उहाँ अब ?

ओली– सोध्नोस् न उहाँलाई ।

पत्रकार– अध्यक्षज्यू, अभियुक्तलाई बचाउन लाग्नुभो भन्ने आरोप छ, के भन्नुहुन्छ तपाई ?

ओली– तपाईहरुलाई विश्वास लाग्यो, त्यस्तो कुरा ?

पत्रकार– हैन, आरोप छ भनेको....

ओली– त्यो केही यस्ताखालका मानिसहरु छन्, झूठ बेइमानीमा भर पर्ने, त्यस्ता मानिसहरुले फैलाएको हल्ला हो । ओके । (गाडीको ढोका लाग्छ)

बिहीबार बेग्लै स्वर

विहीबार पहिलो दिन प्रधानमन्त्रीलाई भेटेर फर्कँदा भने एमाले अध्यक्ष ओली केही कडा रुपमा प्रस्तुत भएका थिए । उनले रायमाझीसँग आफ्नो सम्पर्क भएको र उनीमाथि षड्यन्त्र भएको समेत दाबी गरेका थिए । विहीबार ओलीको भनाइ यस्तो थियो–

‘....एकैचोटि अहिले चार वर्ष अगाडिका चेक काटेका, चेक जसले काट्यो उसैसँग रहेका जस्ता कुराहरु...... । अनि एउटा सांसद, एउटा पटक–पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटामा हिँड्दा हिँड्दै समाउनुपर्ने त्यस्तो खालको रहस्यपूर्ण छ । किन त्यो भागेर उम्केर कतै जानेखालको मान्छे त होइन । उपप्रधानमन्त्री भइसकेको मान्छे, अहिलेको सिटिङ एमपी, भागेर जानेखालको कुरा होइन । त्यस्तोमा एकदम षड्यन्त्रपूर्ण ढंगले....।’

आफूले रायमाझीसँग कुरा गरेको र उनी काठमाडौं आउन लागेको जानकारी दिँदै विहीबार ओलीले भने, ‘मैले बेलुका कुरा गरेको थिएँ । यस्तो सुन्छु नि तपाईलाई पक्राउ पूर्जी भनेको के हो ? तपाईलाई जानकारी छ ? भनें । (उहाँले) आइजीपीलाई सोधें, त्यस्तो होइन, के भएको हो एकपल्ट कुरा स्पष्ट पार्दिनुपर्ला भनेर चाहिँ भन्या छ, त्यस्तो होइन, म भोलि काठमाडौं आउँदैछु भनेर भन्याथ्यो । अब समात्यो भनेको पनि सुन्छु, फरार भनेको पनि सुन्छु । मैले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गर्याछु ।’

प्रधानमन्त्री भन्छन्– फिलिम त बाँकी नै छ !

शनिबार एमाले अध्यक्ष ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहालले दोषीमाथि कारवाही हुने बताए । उनले भने, ‘प्रक्रिया र पद्दतिअनुसार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्डली अगाडि गइन्छ ।

एमाले अध्यक्ष ओलीले दुईपटकको भेटमा यस प्रकरणबारे चासो राखे पनि बचाइदेऊ भनेर प्रधानमन्त्रीलाई भन्न नसक्ने बताउँदै दाहालले भने, ‘अस्ति पनि उहाँको कन्सर्न थियो यही विषयमा । आज पनि उहाँले यो विषयमा कन्सर्न राख्नुभयो, मैले सामान्य कुरा भनें । त्यस्तो भनेर बचाऔं भनेर उहाँले भन्न सक्ने कुरा भएन नि । प्रधानमन्त्रीसँग कुरा गर्दाखेरि बचाइदेऊ भन्न आउन त कसैले पनि सक्दैन नि ।’

ओलीसँगको भेटपछि आफ्नो पार्टीको भातृ संगठन दलित मोर्चाको कार्यक्रममा अतिथि बन्न पुगेका प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध उभिँदा दबाव र घेराबन्दी हुनसक्ने बताउँदै त्यसबाट नडग्मगाउने प्रतिवद्धतासमेत जनाए । दाहालले भने, ‘अब भ्रष्टाचारीहरुको फायल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले यो प्रक्रिया शुरु भएको छ, यो सुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो । हेर्दै जानोस्, सिंगै फिलिम देखिनेवाला छ ।’

आफ्नो पालामा नक्कलीको चर्चा भएको ओलीको स्वीकारोक्ति

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा समेत नक्कली शरणार्थीबारे थाहा पाएको स्वीकार गरेका छन् । तर, भ्रष्टाचारप्रति शून्य शहनशीलता अपनाउने भनेका ओलीले त्यसबेला दोषीलाई कारवाही गर्न नसक्नुका पछाडि आफ्नै सरकारका गृहमन्त्री रामबहादुर थापा र उर्जामन्त्री टोपबहादुर रायमाझीको समेत हात रहेको आशंका गर्ने ठाउँ अहिले जन्मिएको छ ।

विहीबार प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीलाई दिएको प्रतिक्रिया एकचोटि हेरौं–

‘यो तानिएको हो कि तनाएको हो भनेर हामी अध्ययन गदैर्छौं । निर्दोष पर्नुहुँदैन, दोषी उम्कनुहुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौं । भुटानी शरणार्थीको थर्ड कन्ट्री सेटलमेन्ट (तेस्रो मुलुकमा व्यवस्थापन) गर्ने मान्छे मै हुँ । अमेरिका सरकारसँग कुरा गरेर थर्ड कन्ट्री पठाइयो र अहिलेसम्म लगभग दुईचार हजार मान्छे होलान् बाँकी, अरु पठाइयो ।

ती दुईचार हजार मान्छेको सन्दर्भमा के गर्ने भन्ने सन्दर्भमा अन्तरराष्ट्रिय कम्युनिटीसँग हाम्रो छलफल भएको थियो । त्यसमा के गर्ने भन्ने सन्दर्भमा तीनवटा अप्सन दिइएको थियो । एउटा– भुटानमै उनीहरु फर्कन पाउने । त्यो भएन भने थर्ड कन्ट्री सेटलमेन्ट गर्ने । यदि त्यसमा कुनै प्रमाणहरु भएनन् र पठाउन, जान मिलेन भने त्यस्ताहरुको नेपालले नै सेटलमेन्ट गराउने । यी तीनवटा विधिबाट जानुपर्छ । पहिलो भुटानसँग कुरा गर्नुपर्यो । दोस्रो, हामीले थर्ड कन्ट्री सेटलमेन्टका लागि कुन कुन देशमा कति संख्या हुन्छ, त्यो हेर्नुपर्यो र तेस्रो कति संख्या बाँकी हुन्छ, त्यो नेपालले गर्नुपर्यो भन्ने कुरा भएको थियो र यसको स्टडी गर्ने भन्ने कुरा भएको थियो ।

अरु त मलाई त्यस्तो सम्झना छैन । त्यसपछि अलि पछाडि सुन्नमा आयो, केही नक्कली शरणार्थी खडा गर्ने पनि कोशिस हुँदैछ रे । अनि मैले त्यसबेला गृहमन्त्री (रामबहादुर थापा) जीलाई बोलाएर भनें, यस्तो सुन्दैछु म, यस्तो बुझ्ने र रोक्ने । त्यसबेला अनुसन्धान विभागलाई पनि मैले बोलाएर यस्तो यस्तो कुरा सुन्दैछु, यसमा राम्ररी खोजीनीति गर्ने भन्ने कुरा गरियो । तर, हामी सरकारबाट हट्यौं । त्यसपछिको कुरो थाहा भएन ।’ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.