
काठमाडौं । निर्वाचन आयोगले विदेशमा बस्ने नेपाली नागरिकलाई मतदानको अधिकार दिन ४ वटा कानुन संशोधन गर्न सरकारलाई सुझाव दिएको छ । जेन-जी आन्दोलनपछि घोषणा भएको फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन कानुनीलगायतका विषयमा गृह मन्त्रालयले निर्वाचन आयोगसँग राय मागेको थियो ।
आयोगले निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र निर्वाचन (कसुर तथा सजाय) ऐनमा संशोधन गर्नुपर्ने राय गृह मन्त्रालयलाई दिएको छ । त्यसैगरी मन्त्रालयले विदेशमा रहेकाहरुको मतदाता नामावली संकलनदेखि मतदानको प्रक्रियालगायतका विषयमा पनि आयोगसँग सुझाव मागेको थियो । आयोगले नामावली संकलनको काम अनलाइन र सम्बन्धित देशमा भएका नेपाली दूतावासमार्फत् गराउन सकिने सुझाएको छ । तर मतदानका बेला सुरक्षामा भने चुनौती रहेको निष्कर्ष आयोगको छ ।
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सरकारले कानुनी, प्राविधिक र व्यवस्थापकीयलगायतका पक्षमा अध्ययन गरिरहेको छ । निर्वाचन आयोगले कानुनमा गर्नुपर्ने आवश्यक सुधारका विषय सरकारलाई सुझाव पठाएको हो । अहिलेको कानुनी व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिँदैन । अब आयोगले दिएको सुझाव कार्यान्वयन गर्ने भए सरकारले अध्यादेश ल्याउनुपर्ने छ । विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा नीति अनुसन्धान प्रतिष्ठानले समेत अध्ययन गरिरेहेको छ । प्रतिष्ठानको रायपछि मात्रै अध्यादेश ल्याउने या नल्याउने निर्णय हुने गृह मन्त्रालयले जनाएको छ ।