
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको स्थिति सामान्यीकरणतर्फ गइरहेको भन्दै चुनावका विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि सरकारले छलफल गर्ने बताउनुभएको छ ।
जेन–जी आन्दोलनका क्रममा तोडफोड भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घर अवलोकन गर्न पुगेका गृहमन्त्री अर्यालले अब देशको स्थिति सामान्य बन्दै गएको बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही हुने स्पष्ट पार्नुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले मुख्य दलका शीर्ष नेतासँग संवाद नगरेको भन्दै गुनासो आइरहेका बेला गृहमन्त्री अर्यालले अब छिट्टै संवाद हुने पनि बताउनुभयो ।
जेन–जी आन्दोलनपछि गठन भएको कार्की नेतृत्वको सरकारले विघटित प्रतिनिधि सभाका मुख्य दल नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलका शीर्ष नेताहरुसँग छलफल नगरेको गुनासो आइरहेको छ । सरकारले भने चुनावलाई लिएर राजनीतिक दलका प्रतिनिधि र जेन–जीबीच यसअघि नै छलफल गरिसकेको र यसलाई निरन्तरता दिने जनाएको छ । सरकारले बोलाएको छलफलमा अहिलेसम्म मुख्य राजनीतिक दलका शीर्ष नेता भने सहभागी भएका छैनन् । तर चुनावको वातावरण बनाउन भन्दै प्रधानमन्त्री कार्कीले यसअघि पूर्वराष्ट्रपति रामवरण यादवसँग भेटवार्ता गरिसक्नुभएको छ ।