स्काउटद्वारा पूर्वउर्जामन्त्री खड्काको कम्पनीले बनाएका संरचना जफत गर्ने प्रक्रिया सुरु

कार्तिक २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्काउटद्वारा पूर्वउर्जामन्त्री खड्काको कम्पनीले बनाएका संरचना जफत गर्ने प्रक्रिया सुरु

काठमाडौं । पूर्वऊर्जामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले जग्गा भाडाबापतको रकम नबुझाएको भन्दै नेपाल स्काउटले उसले बनाएका संरचना र त्यहाँ रहेको सरसामान जफत गर्ने प्रक्रिया अघि बढाएको छ ।

स्काउटले आज सार्वजनिक सूचना प्रकाशित गरेर प्रालिले सिलबन्दीपछि पनि भाडा रकम चुक्ता नगरेको जनाएको छ । प्रालिका कारण स्काउटलाई क्षति पुगेकाले ७ दिनभित्र बक्यौता रकम बुझाउन मौका दिइएको सूचनामा उल्लेख छ ।

उक्त समयावधिभित्र पनि रकम बुझाउन नआए स्काउटको जग्गामा बनेको भवन र सरसामान जफत गरिने जनाइएको छ । जफत गरेर पनि भाडा रकम अपुग हुन आए घरजग्गा र जायजेथाबाट उसुल-उपर गरिने सूचनामा उल्लेख छ ।

सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका दिइएको छ । यो समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौता र प्रचलित कानुन बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गरिने सूचनामा उल्लेख छ । त्यसले नपुग हुन आउने रकम घरजग्गा वा जायजेथाबाट असुल-उपर गर्ने चेतावनी पनि स्काउटले दिएको छ ।

स्काउटको काठमाडौंको लैनचौरस्थित केन्द्रीय कार्यालय परिसरमा रहेको तीन रोपनी जग्गा प्रालिले भाडामा लिएको थियो । तीन रोपनी जग्गा भाडामा लिए पनि करिब १२ रोपनी जग्गा प्रालिले अतिक्रमण गरेर भोगचलन गर्दै आएको थियो । समयमा जग्गा भाडा भुक्तानी नगरेपछि २०८१ वैशाख ६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त जग्गा र त्यहाँ बनेको भवनलगायत संरचनामा सिलबन्दी गरेको थियो ।

सिलबन्दीपछि पनि खड्का ल्याण्ड प्रालिले भाडा चुक्ता गर्नुको साटो मुद्दा दायर गरी पटक-पटक मुद्दा फिर्ता गरी बहाल चुक्ता नगरेकाले अपूरणीय क्षति पुगेको स्काउटले जनाएको छ । काठमाडौं महानगरपालिका-२९ मा खानी विभागसँगै रहेको जग्गा स्काउटले प्रालिलाई २०६५ सालमा भाडामा दिएको थियो। १० वर्षका लागि भाडा सम्झौता भएको थियो । २०७५ मा भाडा सम्झौता सकिए पनि प्रालिले जग्गा छाड्न र फिर्ता गर्न अटेरी गर्दै आएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.