निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग छलफल

आश्विन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ। आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको तयारीको विषयलाई लिएर आयोगले दलका प्रतिनिधिहरुसँग छलफल गरेको हो ।

कान्तिपथस्थित आयोगकै सभाकक्षमा जारी बैठकमा सबैजसो दलका दोस्रो तहका नेता पुगेका छन् । नेपाली कांग्रेसबाट मीन विश्वकर्मा, एमालेबाट गुरु बराल, माओवादीबट देव गुरुङ, रास्वपाबाट कविन्द्र बुर्लाकोटी, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे लगायत नेताहरु छलफलमा सहभागी छन् । छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरि सक्रिय हुन दललाई आग्रह गर्नुभयो ।

आयोग र दलहरुवीचको छलफलमा फागनु २१ गतेको हुन गइरहेको निर्वाचनको तयारी, निर्वाचनमा सक्रिय सहभागीताका लागि आह्वान लगायत आयोगको प्रशासनिक काम र निर्वाचन तालिकाबारे दलहरुलाई जानकारी गराउन संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाइएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेको छ ।

निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.