काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विभिन्न आयोजनामा घूस लिएको आरोपसहित अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले प्रदेशसभा सदस्य सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराजदेवी राजपुत, भिखारी राउत कुर्मी, भूपेन्द्र झा, मञ्जुदेवी पासवान, रामनाथ सहनी र स्वीकृति देवीविरुद्ध पनि मुद्दा दायर गरेको हो । यसैगरी रामशरण खत्वे, बिभादेवी खत्वे, शम्भुकुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुनाप्रसाद महतो र कौसिल्या देवीलाई पनि विपक्षी बनाइएको छ ।
मुद्दा दायर भएका सिंह महोत्तरी क्षेत्र नं. ४ ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । सिंहले विद्यालय, मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरुको खातामा जम्मा भएको कुल १ करोड ३६ लाख २७ हजार ४ सय ८१ रुपैयाँमध्ये ३८ लाख ५० हजार ३१९ रुपैयाँ रकम घुस लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेको दाबी अख्तियारको छ । रकमको केही हिस्सा आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थको खातामा पनि जम्मा गरेको पाइएको अख्तियारको भनाइ छ ।