काठमाडौं । सरकारले राष्ट्रिय सतर्कता केन्द्र सञ्चालनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै सरकारले दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायब महान्यायाधीवक्ताहरुलाई स्वीकृति दिने, अजरबैजानको बाकुमा आयोजना हुने एसोसाइ वर्किङ ग्रुप अन एसडीजीएसको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक राममायाँ कुँवरलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने, सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरी शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने, नेपाल-भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूह, (सहसचिवस्तर) को चौथो बैठक वैशाख १२ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको जनाइन् ।
उनले जिल्ला समन्वय समिति, प्युठानको नाममा दर्ता रहेको प्युठान जिल्ला साविक विजयनगर गाविस २ स्थित ०-२-२-० र ५-६-३-१ रोपनी जग्गा सोही स्वास्थ्य कार्यालय, प्युठानको प्रशासनिक भवन निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने, स्याङ्जा जिल्ला साबिक पुतलीबजार गाविस ९ स्थित ४-१-१-३ र ११-१-२-२ रोपनी सार्वजनिक जग्गा ३० वर्षका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने र भूउपयोग (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन् ।
त्यस्तै सरकारले काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने, काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप गर्ने, नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथी दर्जामा, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा, एकजना सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा र दुईजना महासेनानीको सरुवा गर्ने निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार सरकारले सुनिगाड जलविद्युत् आयोजनाको इन्टेक, अडिट र पावरहाउसलगायत भौतिक पूर्वाधार निर्माण गर्न बझाङको जयपृथ्वीबहादुर नगरपालिका ११, सुर्मा गाउँपालिका ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.८४ हेक्टर २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने, माथिल्लो रिचेत खोला जलविद्युत् आयोजनाको इन्टेक, अडिट र पावरहाउसलगायत पूर्वाधार निर्माण गर्न गोरखाको आरुघाट गाउँपालिका १ र धार्चे गाउँपालिका ६ मा रहेको राष्ट्रिय वनभित्रको २.७५ हेक्टर जमिन ३० वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने र लोकसेवा आयोगको सिफारिसबमोजिम तीनजना कर्मचारीहरुलाई निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव (प्रा.) पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का १५ निर्णय :
१. राष्ट्रिय सतर्कता केन्द्र सञ्चालनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।
२. दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीनजना नायब महान्यायाधीवक्तालाई स्वीकृति दिने ।
३. अजरबैजानको बाकुमा आयोजना हुने एसोसाइ वर्किङ ग्रुप अन एसडीजीएसको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक राममाया कुँवरलाई स्वीकृति प्रदान गर्ने ।
४. लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने ।
५. सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरी शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने ।
६. नेपाल-भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूह, (सहसचिवस्तर) को चौथो बैठक मिति २०८०/०१/१२ मा काठमाडौंमा आयोजना गर्ने ।
७. जिल्ला समन्वय समिति, प्युठानको नाममा दर्ता रहेको प्युठान जिल्ला साविक विजयनगर गाविस वडा नम्बर २ स्थित ०-२-२-० र ५-६-३-१ रोपनी जग्गा सोही स्वास्थ्य कार्यालय, प्युठानको प्रशासनिक भवन निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने ।
८. स्याङ्जा जिल्ला साविक पुतलीबजार गाविस वडा नम्बर ९ स्थित ४-१-१-३ र ११-१-२-२ रोपनी सार्वजनिक जग्गा ३० वर्षका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने ।
९. भूउपयोग (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने ।
१०. काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने ।
११. काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप गर्ने ।
१२. नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथी दर्जामा, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा, एकजना सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा र दुईजना महासेनानीको सरुवा गर्ने ।
१३. सुनिगाड जलविद्युत् आयोजनाको इन्टेक, अडिट र पावरहाउसलगायत भौतिक पूर्वाधार निर्माण गर्न बझाङको जयपृथ्वीबहादुर नगरपालिका ११, सुर्मा गापा वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.८४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने ।
१४. माथिल्लो रिचेत खोला जलविद्युत् आयोजनाको इन्टेक, अडिट र पावरहाउसलगायत पूर्वाधार निर्माण गर्न गोरखा जिल्लाको आरुघाट गापा वडा नम्बर १ र धार्चे गापा वडा नम्बर ६ मा रहेको राष्ट्रिय वनभित्रको २.७५ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने ।
१५. लोकसेवा आयोगको सिफारिसबमोजिम तीनजना कर्मचारीलाई निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव (प्रा.) पदमा नियुक्त गर्ने ।