सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौं : उपप्रधानमन्त्री खड्का

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौं : उपप्रधानमन्त्री खड्का

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सिंहदरबारमा शुक्रबार मन्त्रालयको कार्यभार सम्हाल्दै उनले रक्षा मन्त्रालय एकदमै महत्त्वपूर्ण भएकाले सबै सम्बन्धित पक्षसँगको छलफलबाट आफूअघि बढ्ने जनाए । उनले सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने पनि जनाए । न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै उनले न्यूनतम साझा कार्यक्रमबाटै सरकारका प्राथमिकता, सरकारका महत्त्वपूर्ण नीतिगत सुधारका कामहरु अघि सार्ने जानकारी दिए ।

‘यो मन्त्रालय महत्त्वपूर्ण छ, यसलाई बुझेर नै आफ्ना काम प्रधानमन्त्रीज्यूको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरु, नेपाली सेनाको प्रधानसेनापतिलगायत सम्पूर्ण सम्बन्धित व्यक्तिसँग छलफल गर्नेछौं । हामी सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौं,’ उनले भने, ‘हामीले न्यूनतम साझा कार्यक्रमको तयारी गर्दै छौँ । मस्यौदा तयार भएको छ । सरकार विस्तार गर्ने काम लगभग सम्पन्न भएको छ । केही दिनभित्रै न्यूनतम साझा कार्यक्रममार्फत ल्याउनेछौं । सरकारको न्यूनतम साझा कार्यक्रम केही दिनभित्रमै सार्वजनकि गर्छौं । त्यसबाट नै सरकारका प्राथमिकता, सरकारका महत्त्वपूर्ण नीतिगत सुधारका विषयलगायत समग्र विषयमा केन्द्रित हुनेछौं ।’

मन्त्री खड्काले अबको केही दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याइ देशको सम्पूर्ण परिस्थितिमा केन्द्रित हुने जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.