सीमा नाकामा बिदेसिनेको लर्को

चैत्र १७, २०७९ |हरिश्चन्द्र बाग
सीमा नाकामा बिदेसिनेको लर्को

कञ्चनपुर । स्वदेशमै रोजगारीका अवसर नपाएपछि बिदेसिने नेपाली नागरिकको संख्या निरन्तर बढिरहेको छ । 

सुदूरपश्चिमका अधिकांश बिदेसिनेमध्ये सबैभन्दा बढी भारतमै जाने गरेका छन् । खुल्ला सीमा र भाषाको सहज-ताका कारण कामका लागि भारत जाने नेपालीको संख्या बढेको हो । चाडपर्व र खेतीपातीको कामका लागि बेलाबेलामा स्वदेश फर्किने र काम सकिएपछि पुनः भारतमै गई काम गर्ने सक्रिय उमेर समूहका युवाको संख्या बाक्लो छ ।

नेपाल भारत सीमा क्षेत्रअन्तर्गत कञ्चनपुरको डोकेबजार र भारतको गौरीफन्टा सीमा क्षेत्रबाट दैनिक हजारौँ नागरिकहरू नेपाल भारत ओहोरदोहोर गर्ने गरेका छन् । झन्डै पाँच सय जति नागरिकको संख्यामा दैनिक जसो नेपाल फर्किरहेका छन् । सोही संख्यामा यहाँबाट भारततर्फ जाने नागरिकहरूको संख्या छ ।

कञ्चनपुर र कैलालीको सीमा क्षेत्र डोकेबजारदेखि भारतको गौरीफन्टा जोड्ने नेपाल भारत सीमा नाकामा भारत जानेहरूको चहलपहल बिहानैदेखि सुरु हुन्छ । डोटीको पूर्वी चौकी गैरा गाउँका कृष्ण बोहरा र झपट बोहरासहित पाँच सात जना युवाहरूको टोली समेत सीमा नाकामै भेटियो । गत असोजमा गएको भूकम्पबाट पीडित यिनीहरूले न कुनै राहत पाए, न त स्वदेशमै केही रोजगारी । घरपरिवारका अन्य सदस्यहरूलाई गाउँमै छोडेर उनीहरू रोजगारीका लागि भारत पसे ।

यस नाका भएर दैनिक ५ सय नागरिकहरू भारत गइरहेका छन् भने सोही संख्यामा नेपाल भित्रिरहेका छन् । सुदूरपश्चिममा चैत महिनामा विवाहित चेलीबेटीलाई भेट्न जाने प्रचलन छ भने अहिले नवरात्र पनि चलिरहेको छ । लगत्तै नयाँ वर्ष विसु पर्व आउने र हिउँदे बाली भित्र्याई बर्खे बाली लगाउने समय पनि नजिकिएकोले सीमा नाकाहरूमा पनि प्रवासी नेपालीहरू स्वदेश फर्किने क्रम समेत बढेको देखिन्छ । 

स्वदेशमै रोजगारी सृजना हुन सक्ने हो भने यहाँका नागरिकहरू स्वदेशमै उद्यमशीलतातर्फ केन्द्रित हुने थिए । तर नेपालमा आफ्नै क्षेत्रमा रोजगारीको अवसर नपाएर नै यहाँका नागरिकहरू यसरी दैनिक जसो भारततर्फ गइरहेका देखिन्छन् । यसलाई रोक्नको लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले स्वदेशमै रोजगारीका कार्यक्रम सृजना गर्न अति आवश्यक छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।