मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

चैत्र १६, २०७९ |कान्तिपुर टीभी संवाददाता
मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । सरकारमा सहभागी हुने मन्त्री छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बिहान ११ बजे बोलाइएको छ ।

सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डाको सहमति जुटेपछि कांग्रेसले सरकारमा पठाउने मन्त्री छान्न लागेको हो । सोमबार गठबन्धनको बैठकमा कांग्रेसले ८ मन्त्रालय पाउने टुंगो लागेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने कांग्रेसको तयारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन दलहरुलाई मन्त्रीको नाम चाँडो उपलब्ध गराउन आग्रह गरेका छन् । कांग्रेसलगायत साना दलहरुले मन्त्रीको नाम टुँगो लगाए प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

मन्त्रालय भागबन्डा टुंगिए पनि कुन दललाई कुन मन्त्रालय दिने भन्ने यकिन भइनसकेको नेताहरुले बताएका छन् । यद्यपि आजै मन्त्रिपरिषद विस्तार गरी नवनियुक्त मन्त्रीहरुलाई शपथग्रहण पनि गराउनेसम्मको तयारी छ ।

चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले डेढ साता बितिसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । चैत १० गते भित्र सरकार विस्तार हुने दाबी गर्दै आएका दाहाललाई गठबन्धनभित्र भागबन्डा मिलाउन निक्कै सकस परेको थियो ।

गत पुस १० गते बनेको गठबन्धन टुटेसँगै एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि प्रधानमन्त्री दाहाल एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.