सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

चैत्र ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सोमबारसम्ममा मन्त्रीपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले भोलि र पर्सि गठबन्धन दलसँग छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते संसदबाट दोस्रोपटक विश्वासको मत लिएर बाहिरिने क्रममा १० गतेभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।

आजको बैठकले सोमबारसम्म मन्त्रीपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरूलाई तीव्रता दिने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार बैठकमा संसद्लाई गतिशील र प्रभावकारी ढङ्गले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा पनि चर्चा भएको थियो ।

उनले भने, ‘एउटा संसद्लाई सुचारु गर्ने बारमा कसरी जाने र विभिन्न गठबन्धनमा रहेका पार्टीहरूसँग छलफल गरेर संसद्लाई प्रभावकारी, गतिशील ऐन, कानुनहरू पनि बनाउनेलगायतका विषयमा समीक्षात्मक छलफल भयो । दोस्रो, क्याबिनेटको विस्तार बढीमा पर्सीसम्ममा, छिटो भन्दा छिटो क्याबिनेट विस्तार गरेर डेलिभरीका कामहरू सुरुवात गर्ने भन्ने बारेमा छलफल भयो ।’

बैठकमा नेताहरूले पार्टी र सरकारका काम कारबाहीलाई जोडेर अघि बढाउने विषयमा अध्यक्ष दाहालको ध्यानाकर्षणसमेत गराएको बताइएको छ ।

यसैबीच, सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठकसमेत पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसिरहेको छ । दाहाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसले कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने अझै टुङ्गो लगाएको छैन ।

यो पनि हेर्नुहोस्...


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement