दलहरुसँग भेटघाट र प्रचार तीव्र बनाउँदै पौडेल-नेम्वाङ, उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने (निर्वाचन तालिकासहित)

फाल्गुन १४, २०७९ |कान्तिपुर टीभी संवाददाता
दलहरुसँग भेटघाट र प्रचार तीव्र बनाउँदै पौडेल-नेम्वाङ, उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने (निर्वाचन तालिकासहित)

काठमाडौं । नयाँ राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले आफूलाई सघाउन अपिल गर्दै दलहरुसँग भेटवार्ता र पत्राचार तीव्र बनाएका छन्। राष्ट्रपतिका लागि फागुन २५ मा हुने निर्वाचनका लागि हिजो (शनिबार) पौडेल र नेम्वाङले उम्मेदवारी दर्ता गराएका थिए ।

दुवै उम्मेदवारले आ-आफ्ना पक्षमा बहुमत जुट्ने दाबी गरेका छन् । आठदलीय मोर्चाका उम्मेदवार पौडेलले मत मागेर अरु दलका नेताहरुसँग भेटवार्ता अघि बढाएका छन् । उनले शनिबारै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पनि भेटेर सघाउन आग्रह गरे ।

अर्का उम्मेदवार नेम्वाङलाई मत दिन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसबाहेक सबै दललाई पत्राचार गरेका छन् । नेकपा एकीकृत समाजवादीको अस्तित्व नै अस्वीकार गर्दै आएका ओलीले पत्र पठाएपछि त्यो दलका नेताहरुले संवादको ढोका खुलेको प्रतिक्राया दिएका छन् । राष्ट्रपतिमा एमालेलाई सघाउन भने एकीकृत समाजवादीले अस्वीकार गरेको छ ।

शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा दुवै उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । पौडेलका साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवासहितका आठ दलका नेता नयाँ बानेश्वर पुगेका थिए ।

यस्तै, नेम्वाङको साथमा एमालेका अध्यक्ष ओलीसहितका नेताहरु पुगेका थिए । पौडेल र नेम्वाङ दुवै प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् । दुवैजना पूर्वसभामुख हुन् ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति निर्वाचित हुनेको सांसद पद खारेज हुन्छ भने पराजित हुनेको भने सांसद पद खारेज हुने छैन ।

राष्ट्रपतिको उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन कार्यतालिकाअनुसार राष्ट्रपतिको उम्मेदवारविरुद्ध आज (आइतबार) उजुरी दिन सकिनेछ। उजुरीमाथि जाँचबुझ गर्ने समय भोलि (सोमबार) का लागि तोकिएको छ भने फागुन १६ गते उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

राष्ट्रपतिका लागि मतदान फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म हुनेछ । निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र सातै प्रदेशका ५ सय ५० प्रदेशसभा सदस्यले मतदान गर्नेछन् ।

दलीय गडजोड हेर्दा पौडेलको पक्षमा बहुमत देखिएको छ । एमालेले दलीय ह्विप नलाग्ने भएकाले नेम्वाङका पक्षमा मत तान्ने दाबी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.