दिगो विकास तथा सुशासन समिति बैठकमा राष्ट्रियसभा सांसदहरुको गुनासो- सरकारले बिजनेस दिएन

फाल्गुन ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
दिगो विकास तथा सुशासन समिति बैठकमा राष्ट्रियसभा सांसदहरुको गुनासो- सरकारले बिजनेस दिएन

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले संसदलाई ‘बिजनेस’ नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाए । सिंहदरबारमा बिहीबार आयोजित राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

बैठक भनेर समय बिताउने मन्त्रीहरुको तौरतरिका ठीक नभएको उनले जनाए । सांसद दाहालले बेलुका सचिवसँग छलफल गरेर दिनभर काम गर्ने गरी समयको व्यवस्थापन गर्न पनि मन्त्रीहरुको ध्यानाकर्षण गराए । ‘बिहान मन्त्री र सचिव दुई घण्टा बैठक भनेर बसेका छन् । दिउँसो त्यसो गरेपछि त्यत्तिकै बित्छ नि । बेलुका सचिवसँग बसेर भोलिका लागि कामबारे छलफल गरे पो हुन्छ,’ उनले भने, ‘मन्त्रीहरुको काम गर्नै तौरतरिका एकदम गलत भन्ने मलाई लाग्दछ । संघीयता हामीले ल्यायौं । समितिहरु धेरै भए ।’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले पनि संसदलाई ‘बिजनेस’ नै दिन नसकेको भन्दै सरकारको आलोचना गरिन् । उनले निजामती कर्मचारी ऐन कहाँ छ ? भनि सरकारलाई प्रश्नसमेत गरिन् । सांसद पन्तले ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र स्थानीय तहले काम गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारिन् । ‘निजामती ऐन कता लुकेको छ ? अहिलेको यो सरकारले बिजनेस नै दिएन पार्लियामेन्टलाई । ऐन भटाभट आउनुपर्‍यो संसद्‌मा । समिति बस्छन् । त्यस विषयमा छलफल गर्छन् । ऐनकै अभावमा प्रदेश र स्थानीय तहले कानुन बनाएर काम गर्न सकेका छैनन् ।’

सांसद पन्तले संघीयताको कार्यान्वयनमा गम्भीर भएर लाग्न पनि सबै जनप्रतिनिधिहरुलाई आग्रह गरिन् । उनले महिला जनप्रतिनिधिहरु संघीयताको भावनाअनुसार काम गर्न अझ बढी जिम्मेवार बन्नुपर्ने देखिएको पनि दोहोर्‍याइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.