देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली

पुस ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ । नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसर लगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताउनुभयो ।

“हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्यांकन हुन्छ । ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा शालीनता र विनम्रता चाहिन्छ । आफूभित्र घमण्ड हुनु हुँदैन”, उहाँले भन्नुभयो, “जेसिजले अनुशासन सिकाउँछ, अरूलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्छ । यसले मुख छाड्न र गाली गर्न सिकाउँदैन । वातावरण जोगाउँन सिकाउँछ । यी प्रेरणाहरू मानव जातिका लागि आवश्यक छन् । समृद्ध नेपाल, सुखी नेपालको लक्ष्य पनि यही हो हामी नेपाली एकताबद्ध भएर यो लक्ष्य प्राप्तिमा लाग्नुपर्छ ।”

विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उहाँले यस दिवसलाई सधैं अपनाउन र मानवोचित हितलाई केन्द्रमा राखेर जनता र पृथ्वीलाई जोगाउन जिम्मेवार हुन आग्रह गर्नुभयो । जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले नेपालमा जेसिजको लगातार विस्तार र प्रकाशको ज्योति छर्ने काम भएकामा प्रशंसा व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाशाली युवाहरूलाई सम्मानित गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement