वाग्मतीको सरकार गठनमा राप्रपा निर्णायक, एमाले दबाबमा

पुस १६, २०७९ |बालकृष्ण अधिकारी
वाग्मतीको सरकार गठनमा राप्रपा निर्णायक, एमाले दबाबमा

हेटौँडा । सातै प्रदेशमा नयाँ सरकार गठनका लागि शक्ति बाँडफाँडको कसरत चलिरहँदा वाग्मतीको भागबन्डा पेचिलो बनेको छ । वाग्मती, लुम्बिनी, गण्डकी र प्रदेश एकमा सरकार निर्माणका लागि निर्णायक देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मतीमा दाबी गरेपछि एमाले दबाबमा छ ।

एमाले र माओवादी केन्द्रको अगुवाईमा बनेको नयाँ सत्ता समीकरणमा राप्रपा सामेल भएको छ । तर उ प्रदेश खारेजीको पक्षधर दल हो । निर्वाचनमा जाादा नै प्रदेश संरचना चाहिन्न भनेको राप्रपा यतिखेर चारवटा प्रदेशमा सरकार गठनका लागि निर्णायक बनेको छ । वाग्मती प्रदेशमा त राप्रपा नमिल्ने हो भने एमाले र माओवादी गठबन्धनको सरकार बन्नै सक्दैन ।

१३ सिट जितेको राप्रपा र सात सिटको एकीकृत समाजवादीले कांग्रेसलाई साथ दिए गठबन्धन बाहिरबाटै सरकार बन्ने स्थिति छ । त्यसैले पनि राप्रपाले वाग्मतीमा सरकारको नेतृत्व दाबी गरिरहेको हो ।

राप्रपाका वाग्मती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले भने, ‘वाग्मती प्रदेश जहाँ देशकै राजधानी काठमाडौंसमेत भएको ठाउँ । र यहाँ चाहिँ हाम्रो राम्रो उपस्थिति छ । संख्यात्मक रुपमा पनि । त्यसैले सातवटा प्रदेशमध्ये त्यो अवस्था बन्दा, केन्द्रले जाउभन्दा जाने हो ।’

गण्डकी प्रदेशमा पनि एमाले र माओवादी मिल्दा ३० सिट मात्रै पुग्छ । २ सिट जितेको राप्रपा वा समाजवादीका दीपक मनाङेको पाए मात्रै त्यहाँ सरकार बनाउन चाहिने ३१ सिटको अंक गणित पुग्छ ।

गण्डकीमा खगराज अधिकारी, कर्णाली प्रदेशमा यामलाल कँडेल र प्रदेश एकमा हिक्मत कार्की एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । ती तीनै जनालाई मुख्यमन्त्री बनाउन चाहिरहेका ओलीले वाग्मतीमा जगन्नाथ थपलियालाई पनि छुटाउन चाहन्नन् ।

वाग्मती छाड्न हुन्न भन्ने मत पनि एमालेमा बलियो छ । तर चारमध्ये एउटा प्रदेश राप्रपाको भागमा छोड्नुपर्दा वाग्मती लिने वा छाड्ने दुविधा एमालेमा देखिन्छ ।

राप्रपालाई संघीय सरकारमा पनि मिलाउनैपर्ने बाध्यतामा छ गठबन्धन । प्रदेशमा सबैभन्दा बढी जितेको पनि वाग्मतीमै हो । राजनीतिक लेनदेनले राप्रपालाई आफैँले नचाहेको प्रदेश संरचनाबाट कम्तिमा एउटा मुख्यमन्त्रीको दाबी नछाड्ने अवस्थामा पुर्‍याएको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।