प्रदेश संरचना खारेजीको माग राख्ने राप्रपाको वाग्मतीमा १३ सिट, मुख्यमन्त्री दाबी

पुस १४, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश संरचना खारेजीको माग राख्ने राप्रपाको वाग्मतीमा १३ सिट, मुख्यमन्त्री दाबी

मकवानपुर । प्रदेश संरचना खारेजीको माग राख्दै आएको राप्रपाले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएपछि राप्रपाले मुख्यमन्त्री दाबी गरेको हो ।

‘प्रदेशको मुख्यमन्त्रीमा हाम्रो पार्टीको दाबी छ । केन्द्रीय सरकारमा हामी सहभागी हुने भनेका छौं । सोहीअनुसार प्रदेशमा पनि हुन्छौं,’ राप्रपा संसदीय दलका नेता उद्धव थापाले भने । उनका अनुसार सरकारको नेतृत्व गर्ने विषयमा गठबन्धनमा छलफल भइरहेको छ । ‘सात प्रदेशमध्ये एउटा प्रदेशमा हामीले नेतृत्व गर्नेछौं । पार्टीका शीर्ष नेतृत्वले यस विषय छिट्टै टुंग्याउनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

वाग्मतीमा सांसदको संख्या बढी भएका कारण नेतृत्व लिने सम्भावना उच्च रहेको बुझिएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएपछि वाग्मतीमा सरकार गठनका लागि नयाँ विकल्पहरू देखिएका छन् । प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता यहाँ रहेको छ । हालको अवस्था यस प्रदेशको सत्ताको निर्णायक मत राप्रपासँग छ ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद आवश्यक हुन्छ । जसमध्ये एमालेका २७, माओवादी केन्द्रका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन् । अर्कोतर्फ राप्रपा र एकीकृत समाजवादीसँग तालमेल गरे कांग्रेसको पनि सरकार बन्ने सम्भावना छ । कांग्रेसलाई सरकार बनाउन १९ सांसदको समर्थन भए पुग्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.