‘बीआईसीसीमा संसद बस्ने होइन, मेला-महोत्सव लगाउने हो’

मंसिर १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘बीआईसीसीमा संसद बस्ने होइन, मेला-महोत्सव लगाउने हो’

काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टर (बीआईसीसी) संसद् भवन तत्काल खाली गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार गरेको अर्थतन्त्रमा मेला महोत्सवमा विद्यमान चुनौती र आगामी तयारी कार्यक्रममा वरिष्ठ निर्देशक ऐरले सरकारसँग यस्तो माग गरेका हुन् । उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरका मेला महोत्सव गर्न अन्तर्राष्ट्रियस्तरको हलको आवश्यक रहेको भन्दै बीआईसीसी भवन संसद बस्न नभई अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रुपमा सञ्चालनका लागि भएकाले तत्काल खाली गराउनुपर्ने बताए । उनले सरकारले ठूलाठूला मेला महोत्सव आयोजना गर्न हल निर्माण गर्नुपर्ने पनि बताए ।

‘काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको हल आवश्यक छ । वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टर (बीआईसीसी) चीनले बनाइ दिएको हो । त्यो संसद बस्ने स्थान होइन,’ उनले भने, ‘बीआईसीसी हललाई जतिसक्दो छिटो खाली गराउनुपर्छ, त्यो अन्तर्राष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन, यो चीन सरकारको सहयोगमा बनेको हो, मेला महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिइएको सम्पत्ति हो, जुन प्रयोजनाका लागि दिइएको हो त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ ।’

उनले प्रदर्शनीस्थल पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग पर्यटन बोर्डले सकारात्मक भूमिका खेल्ने बताए । उनले मेला महोत्सव गर्न पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.