अध्यक्ष दाहालले भने, ‘नसोचेका केही कुरा भए’

मंसिर ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
अध्यक्ष दाहालले भने, ‘नसोचेका केही कुरा भए’

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी परिणाम अपेक्षाभन्दा केही फरक आएको बताएका छन् ।

गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि विजयी सभामा अध्यक्ष दाहालले गठबन्धन सफल भए पनि अपेक्षित परिणाम नआएको बताए ।

‘यो गठबन्धन अहिलेसम्म हेर्दा सफल भएको छ । तर हाम्रो अपेक्षाअनुसार परिणाम आएन,’ अध्यक्ष दाहालले भने, ‘नसोचेका नसोचेका केही कुरा भए ।’

गोरखाबाट निर्वाचित गराएर जनताले जीवनको अन्त्यतिर नयाँ र चुनौतीपूर्ण जिम्मेवारी दिएको उनले बताए । उनले भने, ‘तपाईंहरूको जनप्रतिनिधि भएर सिंहदरबार छिर्दै गर्दा मैले नयाँ जिम्मेवारी पाएको महसुस गर्दै छु । यसलाई मैले जीवन अन्त्यतिरको अवसर र चुनौतीका रुपमा लिएको छु ।’

समग्र देशको निर्वाचन परिणाम अपेक्षित नआए पनि गठबन्धन सफल भएको उनको भनाइ छ । उनले गठबन्धनको बैठक बस्नुपर्ने भएकाले आजै काठमाडौं जाने तयारी रहेको जानकारीसमेत दिए।  

दाहालको भाषणको संक्षेप

निर्वाचनको परिणाम सुखद नै भएको छ । तर, हाम्रो अपेक्षा परिणाम जस्तो भन्ने थियो, त्यस्तोचाहिँ अपेक्षा अलि भएन भन्ने पनि छ । नसोचेको नसोचेको के के कुरा भयो भन्ने पनि छ ।

म यहाँबाट तुरुन्तै काठमाडौं जानुपर्ने भएको छ किनभने गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ । जस्तो परिणामको अपेक्षा थियो, यहाँमात्रै होइन, देशैभरि पनि अपेक्षा गरे अनुसारको त अलि भएन भन्ने नै छ । त्यसका निम्ति गठबन्धन दलहरुले, राजनीतिक दलहरुले केही जरुरी गृहकार्य गर्नैपर्ने भएको छ ।

एजेण्डा होइन, एउटा आवेगमा देशलाई भावावेशमा मानिसहरुलाई भ्रमित पार्न सकिने संकेतहरु पनि देखा परे । म अहिले कसैलाई दोष र आलोचना आरोपतिर जाने छैन । यो हाम्रा लागि चुनौती हो । जसले नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउनका निम्ति लडाइँ गरे, ती पार्टीहरुलाई र देशमा विस्तृत शान्ति सम्झौता मार्फत युगीन शान्तिको नयाँ ढोका खोल्ने दलहरुलाई चुनौती हो भन्ने मैले ठानेको छु ।

म फेरि एकचोटि प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, नेपाली जनताले रगत बगाएर ल्याएको परिवर्तनलाई उल्ट्याउन दिइने छैन । र, नेपाली जनताको अधिकारको सुरक्षाको निम्ति अन्तिम समयसम्म प्रयास गरिने छ, संघर्ष गरिने छ भनेर म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु । गोरखाली जनताले यो परिवर्तनको रक्षाको निम्ति आफ्नो ठाउँबाट योगदान गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

ती खालका प्रवृत्तिहरु चाहिँ हामीले उनीहरुलाई गाली या आलोचना गर्ने विषय भन्दा पनि हामीले एकचोटि राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने अवस्थाका रुपमा मैले लिएको छु । यो परिस्थितिमा यति ठुल्ठुला आन्दोलन र परिवर्तन ल्याउने राजनीतिक नेताहरु, दलहरुले एकचोटि आफैंभित्र फर्केर कहाँनेर कमी भए, कहाँनेर कमजोरी भए, जसले गर्दा विचार र सिद्धान्तको अवमूल्यन हुने खतरा देखा पर्न खोज्यो । मूल्य मान्यता र राजनीतिक एजेण्डाको अवमूल्यन हुने खतरा देखा पर्यो भनेर राजनीतिक नेतृत्वले नै सोच्नुपर्ने अवस्था आइराखेको छ ।

यसको निम्ति आत्मसमीक्षा गर्न मेरो ठाउँबाट मेरो पार्टी, म आफैं र गठबन्धन दलका सबै नेता साथीहरुसँग यो परिस्थिति र हाम्रा अगाडिका अवसर र चुनौती दुईटै छन् । अहिले नै सबै बर्बाद भयो भन्ने केही छैन तर यदि राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गरेर आउँने दिनका लागि जनताप्रति समर्पित हुने नीति योजना र कार्यक्रम लिएर अगाडि नआउने हो भने देश अप्ठ्यारोमा पर्न सक्छ । देश अप्ठ्यारोमै पर्ने नै भए त राजनीतिक दलहरुलाई जसले जति गाली गरे पनि केही फरक पर्दैन, राजनीतिक नेताहरुलाई जति गाली गरे पनि फरक पर्दैनथ्यो । तर, देश झन ठूलो भूवरीमा पर्ने स्थिति हो भने त्यो स्वीकार्य हुने विषय होइन ।

त्यसकारण झण्डै ७५ वर्षदेखि संघर्ष गरेर प्राप्त गरेका लोकतान्त्रिक अधिकारहरुको रक्षाको निम्ति र गाउँ गाउँ, नगर नगरमा पुगेको सिंहदरबारलाई उल्ट्याउने कुनै पनि चेष्टा सफल हुन दिइने छैन भनेर म सबैसँग अपील गर्न चाहन्छु । त्यसको निम्ति अनुरोध पनि गर्न चाहन्छु ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.