
बारा । बारामा जंगली हात्तीको आक्रमणबाट ट्रक चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका-१६ काटघाट क्षेत्रमा साेमबार बिहान जंगली हात्तीको आक्रमणमा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । साेमबार बिहान पूर्व-पश्चिम राजमार्गको बीच बाटोमा हात्ती आएर सवारी साधनमा आक्रमण गरेको प्रहरीले जनाएको छ।
हात्तीको आक्रमणपछि ना ४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर-१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरी ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब १०० मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिनुभएकाे छ । घटना भएको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरक्षक जीवन लामिछानेको कमान्डमा सात जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
हाल हात्तीलाई जंगलतर्फ धपाउने कार्य जारी रहेको र अन्य केही सवारी साधनमा पनि क्षति भएको बुझिएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिनुभयाे ।