किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, दुई घाइते

आश्विन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, दुई घाइते

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका-१२, शान्तीगुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बुधबार बिहान ९ बजेर ५० मिनेटको समयमा पर्खाल भत्किँदा उद्योगमा कार्यरत कर्मचारी चितवन खैरहनी-२ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई हाल रत्ननगर-१२ बस्ने ५४ वर्षीय रेशम दमाई र रत्ननगर-१२ का ४५ वर्षीय कमल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

पर्खालमा च्यापिएर गम्भीर घाइते भएका तिनै जनाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पर्सा जिल्ला घर भई हाल रत्ननगर-१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र पर्सा घर भई सोही स्थानमा बस्दै आएका ४० वर्षीय अंकज थारुको मध्यम अवस्था चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.