नेपालका लागि एआई विलासिता होइन, रूपान्तरणको साधन हो : सञ्चारमन्त्री गुरुङ

श्रावण १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालका लागि एआई विलासिता होइन, रूपान्तरणको साधन हो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०२५ मा सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गर्नुभएको छ । मन्त्री पृथ्वीसुब्बा गुरुङले यस सन्दर्भमा भन्नुभयो, “एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनुपर्छ । हामी विकासशील राष्ट्रहरूका लागि कम्प्युटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगको आग्रह गर्छौं ।”

विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन २०२५ र विश्वव्यापी एआई शासनसम्बन्धी उक्त उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री पृथ्वीसुब्बा गुरुङले पारदर्शिता, समावेशिता, जवाफदेहिता र एआईको गैर-सैन्यीकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसंघको नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताउनुभयो ।

सम्मेलनमा सम्बोधन गर्दै मन्त्री गुरुङले भन्नुभयो, “एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ । हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्छौं ।“

गुरुङले मानव-केन्द्रित विकासका लागि एआई रहेको बताउनुभयो । उहाँले स्वीकृतिको अन्तिम चरणमा रहेको राष्ट्रिय एआई नीतिले राष्ट्रिय प्राथमिकताहरूसँग तारतम्य मिलेको समावेशी र नैतिक एआई इकोसिस्टमको परिकल्पना गरेको पनि बताउनुभयो ।

एआईसम्बन्धी उक्त विश्व सम्मेलनमा मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पार्दै नेपालले रणनीति र अन्तर्राष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने, अग्रणी विश्वविद्यालयहरूमा एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशहरूमा नवप्रवर्तन हबहरू सुरु गर्ने, शासन, सार्वजनिक सेवा, विपद् प्रतिक्रिया, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्द्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने लक्ष्य रहेको बताउनुभयो ।

मन्त्री पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, “नेपालका लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि हाम्रो नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन हो । हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीपहरू निर्माण गरिरहेका छौं ताकि परम्परागत विकासका अवरोधहरूलाई नाघेर अगाडि बढ्न सकियोस् र प्रविधिले सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस् ।”

करिब एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा नीति निर्माताहरूको उक्त सम्मेलनमा सम्बोधन गर्दै मन्त्री पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, “एआईको क्रममा मानवताबिना प्रविधि अराजकता हो, नैतिकताबिना नवप्रवर्तन जोखिम हो भन्ने हामीले मनन गर्न पर्छ । नेपालले खुला सहकार्य, एआईको जिम्मेवार विकास र नैतिक शासनप्रति आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउँछ । हामी सबै राष्ट्रहरू ठूला र सानालाई निष्पक्ष, सुरक्षित र रूपान्तरणकारी एआई भविष्यको निर्माणमा सहभागी हुन आह्वान गर्छौं । एआईले विशेषाधिकार प्राप्त केहीलाई होइन सम्पूर्ण मानव जातिको उत्थान गरोस् भन्ने सुनिश्चित गर्नु हाम्रो साझा चुनौती हो ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.