काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र रू २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”
विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रू २१ लाख ६४ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौँ महानगरपालिका-१५ बस्ने २९ वर्षीया जुनु रानाथापामगर र बर्दियाको गुलरिया नगरपालिका-२ घर भई हाल काठमाडौँ-३२ बस्ने ३३ वर्षीय सुदीपकुमार यादव रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।-रासस