सप्तरी । दैनिकरूपमा पाँच हजारभन्दा बढी नागरिकको आवतजावत हुने सप्तरीस्थित कोशी पश्चिमी नहरको सडक निर्माण नहुँदा स्थानीयलाई सास्ती छ । तीन पुस्तादेखि नहर सडकमा कालोपत्रे गर्न सरकारको ध्यान नपुग्दा समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ।
भारतसँग सिमा जोडिएको सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ हटैलका ६५ वर्षीय झरिलाल यादव आफ्नो जीवनमा कि त हिलाम्मै सडकमा हिड्नुभयो कि त धुलोमय सडकमा । उहाँजस्ता ५ हजार बढी नागरिकलाई यस्तो समस्या वर्षोदेखि भोग्नुपरेको छ ।
सप्तरी सदरमुकाम राजविराजदेखि दक्षिण र पश्चिमतर्फको ग्रामिण क्षेत्रमा सडकको यस्तो समस्या हो । १२ वैशाख २०११ सालमा भारत र नेपालबीच भएको कोसी सम्झौता बमोजिम सप्तरीमा ३५ किलोमिटर लम्बाई भएको कोसी पश्चिमी नहर निर्माण भयो र सोही नहरबाट आउजाउ पनि सुरू भयो ।
कूल नहरमध्ये राजविराजदेखि पश्चिम १७ किलोमिटरको क्षेत्र राजगढ गाउँपालिका र डाक्नेश्वरी नगरपालिका विकट क्षेत्रमा पर्दछ । हटैल, तरही, कुशाह, लक्ष्मीपुर, भुतही, फतेपुर, कटैया सहितका क्षेत्रमा अहिलेसम्म कालोपत्रै सडक नहुँदा बिरामीलाई अस्पताल पुर्याउनुदेखि सबै खालको समस्या भोग्नुपरेको स्थानीयको दुखेसो छ ।
नेपाल भारतबीचको कोसी सम्झौता बमोजिम उक्त नहर सडकमा कालोपत्रै गर्न दुवै देशको आपसी सहमतीमा कुनै पनि सरकारले गर्न सक्छन् । तर, स्थानीय सरकारले आवश्यक समन्वयतर्फ ध्यान नदिँदा स्थानीयबासिन्दा मधेशका मुख्यमन्त्रीदेखि प्रधानमन्त्री समक्ष डेलिगेशन जाने भएका छन ।
कोसी सम्झौताबमोजिम कोसी ब्यारेजको मात्रै नभई कोसी नहर संरचना मर्मतसम्भारको काम पनि भारत सरकारकै जिम्मेवारी पदर्छ । तर, नेपाली भूभागमा रहेको उक्त नहर कालोपत्रै नहुँदा भारतीयभन्दा नेपाली नागरिकलाई बढी समस्या भोग्नुपरेको छ । वर्षोदेखिको सडक समस्या समाधान गर्न कि त भारत सरकारलाई आग्रह गर्नुपर्छ वा नेपाल सरकार आफैले अग्रसरता देखाउनुपर्ने स्थानीयबासिन्दाको माग छ ।