लागूऔषधसहित ६ जना पक्राउ

जेष्ठ १, २०८२ |सुन्दर शिल्पकार
लागूऔषधसहित ६ जना पक्राउ

भक्तपुर । भक्तपुरकाे मध्यपुर र सुर्यविनायक नगरपालिकाबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । भक्तपुरकाे मध्यपुर थिमि नगरपालिकामा लागूऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने सुर्यविनायकबाट १ जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

महानगरीय प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले मध्यपुर थिमि-९, बोदेबाट पक्राउ गरेको हो । भक्तपुरमा एक महिना अघिबाट लागूऔषधविरुद्धकाे अभियान संचालन भएकाे थियाे भने मध्यपुर थिमि नगरपालिका भित्र महाअभियान संचालन गरी कारवाही तिव्र बनाईकाे थियाे ।

पक्राउ पर्नेहरूमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-८ घर भई हाल भक्तपुर बोदे बस्ने २५ वर्षिय स्वदेश राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भई हाल बोदे निलबाराही बस्ने २९ वर्षिय छिरीङ लामा, मध्यपुर थिमि नगरपालिका-९, बोदे बस्ने २५ वर्षिय अमिर बस्नेत, मध्यपुर थिमि नगरपालिका-७ धुन्चेपाखा बस्ने २१ वर्षीय नेस्नल भन्ने सम्राट राई र सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-३ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा बस्ने २७ वर्षीय विकास लामा रहेका छन ।

उनीहरूलाई मध्यपुर थिमिको बोदे बस्ने स्वदेश राईको डेरा कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानले बताउनुभयो ।

प्रहरीले उनीहरूको साथबाट लागूऔषध इपेस्पेन ४५० पिस, ट्रामाडोल १८० पिस, स्टेगा १७३ पिस, पोलाण्ड ४६६ पिस, नगद ५ हजार र मोबाइल ३ थान बरामद गरेको जनाएको छ । सो सम्बन्धमा लागूऔषध कसुरमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी न्यौपानेले बताउनुभयो ।

यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बोलकोटबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाँउपालिका-२ ओखरपौवा घर भई बालकोट डेरागरी बस्ने ३७ वर्षीय हरिनाथ कोईराला हुन ।

कोईरालाले लागूऔषध विक्री वितरण गर्दछन भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई उनकै डेरा कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

प्रहरीले उनको साथबाट १ ग्राम ३२ मिलि ग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ । उनलाई लागूऔषध कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।