रामेछाप । फेसबुकमा भावुक स्टाटस लेखेर ६ दिनअघि सम्पर्कविहीन भएका सिन्धुलीको सुनकोशी गाउँपालिका-७ मझुवाका २६ वर्षीय शिव शरण विक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीकाअनुसार विक चैत १० गते आइतबार राति फेसबुकमा भावुक स्टाटस लेखेर रामेछाप सदरमुकाम मन्थलीबाट सम्पर्क विहीन भएका थिए ।
विक हराएको भोलिपल्टबाट जिल्ला प्रहरी कार्यालय रामेछापले खोजी गरिरहेको थियो । प्रहरीले खोज्ने क्रममा शुक्रवार बिहान मन्थली नगरपालिका–६ भलुवाजोरको बोक्से पहरा भिरमा विकको लास फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।
उहाँकाअनुसार बोक्से पहराको अप्ठेरो भिरमा लास भेटिएको र विकले चढेको बा २६ प ६०५९ नम्बरको मोटरसाइकल पनि लास नजिकै भेटिएको छ । विक प्रहरीले खोजी गर्ने क्रममा चैत ११ गते बिहान आइतबार लास भेटिएको बोक्से पहरामाथि मन्थली खुर्कोट सडक खण्डमा विकको मोबाइल, हेलमेट, पर्स लगायतका सामाग्री फेला पारेको थियो ।