अस्ट्रेलियामा एन्टाको होली सम्पन्न

चैत्र ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
अस्ट्रेलियामा एन्टाको होली सम्पन्न

काठमाडौं । एसोशिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा गत शनिबार ग्रानभिल पार्कमा थुप्रै नेपाली भेला भई होली मनाएका छन् । ह्वाइट स्पट ग्रुपको प्रस्तुति रहेको उक्त होली मेलामा नेपाली खाना र तराई/मधेश झल्किने विशेष प्रस्तुति पनि समेटिएका थिए ।

स्थानीय ग्रानभिल क्षेत्रकी सांसद जुलिया फीनले औपचारिक रूपमा होलीको शुभारम्भ गर्दै बहुसांस्कृतिक समाजको सुन्दरता भनेको सबै धर्म, जात र कला संस्कृतिको सम्मान गर्नु रहेको बताउनुभयो । यसमाथि पनि रङको पर्वको रूपमा मनाइने होलीले अस्ट्रेलियामा समेत चर्चा पाइसकेको जिकिर गर्नुभयो । 

कार्यक्रममा एनआरएन ओसेनियाका उपसंयोजक अरुण ठाकुरले होली राष्ट्रिय पर्व बनिसकेको र विदेशमा रहँदा पनि यसको महत्त्व बिर्सन नहुने बताउनुभयो । ठाकुरले रङको मिश्रणसँगै रंगिने होलीले नेपालीबीच पनि आपसी सद्भा‌व र अपनत्व काय राख्न थप मद्दत पुग्ने बताउनुभयो ।

एन्टाका अध्यक्ष रञ्जित शाहले नेपालबाट सात समुद्रपारि आए पनि आफ्नो कला संस्कृति बिर्सनु नहुने बताउँदै सहयोग र सद्भावका साथ भव्य रूपमा सफल बनाउन सहयोग गर्ने मनहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपाली कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ पनि सिड्नीमा एन्टाले होली पर्व आयोजना गर्दै आएको सुनाउनुभयो । 

एन्टाका बोर्ड अफ डिरेक्टर अंगद मिश्राले कार्यक्रमको सफलताको कामना गर्दै अस्ट्रेलियामा आएर पनि होली मनाउन पाउनु गर्वको विषय रहेको बताउनुभयो ।

कार्यक्रममा गायक सुदिन पोखरेल, निर्देशक सोभित बस्नेत तथा कलाकारहरू आरिफ रौफ, सुशान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, समय ब्यान्ड, डीजे नटकेस, मानस राज, जेनिशा गौतम लगायतको विशेष प्रस्तुति रहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement